विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डमाथि नेपालको जीत

विश्वकप क्रिकेट लिग–२ : स्कटल्यान्डमाथि नेपालको जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानीमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डमाथि ६ विकेटको जीत हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जीतका लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

नेपालको जीतमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ९८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ७४ रनको योगदान गरेका हुन् । इशान पाण्डेले ६१ बलमा ५ चौका र २ छक्काको सहायतामा ५५ रन बनाउँदै मैदानबाट बाहिरिए भने आसिफ शेखले २९ रन जोड्दा कुशल भुर्तेलले २८ रन जोडे ।

बलिङतर्फ स्कटल्यान्डका लागि मार्क वाटले २ विकेट लिँदा ब्राण्डन म्याकमुलनले १ विकेट झारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ३९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो ।

स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ७३ रनको योगदान गरेका हुन् । माइकल इंग्लिसले ४ चौका र १ छक्काको सहायतामा ५१ रन बनाए । जर्स मुन्सीले २१ रन बनाउँदा मार्क वाटले २० रन जोडे ।

बलिङतर्फ नेपालका ललित राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट झारे । दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले समान १/१ विकेट लिए । जीतसँगै विभिन्न ८ राष्ट्र सहभागी प्रतियोतिगामा नेपाल २२ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यता पराजित स्कटल्यान्ड भने ३८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा यथावत छ ।