काठमाण्डु – संसद्मा सत्तापक्षका एक सांसदले सरकारप्रति नै प्रश्न उठाएका छन् ।
बजेटका प्राथमिकतामाथिको महत्त्वपूर्ण छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि रास्वपाका सांसद अमरेश सिंहले संसद्मा आक्रोश व्यक्त गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले नयाँ र परम्परा तोड्ने नाममा स्थापित संसदीय प्रणाली र संसद्को स्थापित सिस्टम नै भत्काउन खोजिएको भन्दै आपत्ति जनाए ।
बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि सदनमा बस्ने संसद्को नियम र प्रणाली रहेको सिंहले बताए । उनले भने, ‘परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । म पछिल्लो २० वर्षदेखि पहिलोपटक अर्थमन्त्रीबिनाको यस्तो छलफल देख्दै छ ।’
संसद्मा बजेटमाथि छलफल चलिरहँदा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए ।
‘प्रश्न सरकारसँग गरिन्छ र कुरा पनि जनताको कुरा राखिन्छ । म पहिलोचोटी २० वर्षको कार्यकालमा पहिलोचोटी देख्दैछु, अर्थमन्त्री नभएर पनि बजेटको विनियोजन हुँदैछ’, उनले भने । नयाँको नाममा सबै चिज भत्काउने नहुनेमा उनले जोड दिए ।
सांसद सिंहले मधेशको बहुमत भोट लिएर बनेको वर्तमान सरकारले बजेट, नीति र कार्यक्रममा मधेशी जनतालाई पूर्ण रूपमा उपेक्षा गरेको पनि टिप्पणी गरे ।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सरकारलाई सबैभन्दा बढी भोट मधेशले दिए पनि सरकारले मधेशको अधिकार र भावनालाई प्राथमिकतामा नराखेको उनको आरोप छ ।




प्रतिक्रिया