काठमाण्डू– सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीशमा डा. मनो शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
संसदीय सुनुवाइ समितिले मंगलबार शर्माको नाम अनमोदन गरेको हो ।
शर्माको नाम सर्वसम्मत अनुमोदन भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले जानकारी दिए ।
न्यापरिषदले चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सोमबारसम्म उजुरी दिने समय तोकिएकामा उनीविरुद्ध १६ वटा उजुरी दर्ता भएका थिए ।
अनुमोदनअघि समितिले मंगलबार बिहान उजुरीकर्तासँग छलफल गरेको थियो भने अपराह्न सांसदहरुले शर्माको प्रस्तुतिकरण सुन्नुका साथै प्रश्न गरेका थिए ।
आफूमाथिका आरोप र प्रश्नको उनले प्रतिवाद गरे । शर्माले पूर्वप्रधानन्यायाधीश दामोदर शर्माको नातेदार भएकै आधारमा नेपोबेबीको आरोप लाग्नु गलत भएको उल्लेख गरे । यस्तै उनले अदालतमा कुनै गुटउपगुट नरहेको दाबी गरे ।
प्रधान न्यायाधीशमा सिफारिसविरुद्ध परेका रिट दर्ता नगर्न न्याय प्रशासनलाई दबाब दिएको उनले अस्वीकार गरे ।
उनले रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषय सर्वोच्च प्रशासनको भएको बताए । प्रशासनको विवेकले गरेको निर्णयमा टिप्पणी गर्न नचाहेको उल्लेख गरे । आफूले विद्यावारिधी गर्दा बौद्धिक चोरी गरेको आरोपसहितको उजुरीमा सत्यता नरहेको दाबी गरे ।
सुनुवाई समितिमा उजुरीकर्ताले उनको विद्यावारिधीको सोध त्रिभुवन विश्वविद्यालयको सफ्टवेयरमार्फत जाँच गर्न माग गरेका थिए ।
वरियता मिचेर चौथो नम्बरका व्यक्ति प्रधानन्यायाधीश सिफारिस भएको भन्ने आरोपमा उनले प्रधानन्यायाधीश बढुवा हुने नभई नियुक्ति हुने तर्क गरे । नियुक्तिको निर्णय संवैधानिक परिषदको अधिकारको कुरा भएको तर्क उनको थियो ।




प्रतिक्रिया