काठमाण्डु- चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई अडिग र रणनीतिक रूपमा बलियो भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै पुटिनको चीन भ्रमण भएको हो ।
गत साता चीन भ्रमणमा पुगेका ट्रम्पलाई बेइजिङले भव्य स्वागत गरेको थियो । तर हर्मुज जलमार्ग पुनः सञ्चालनमा सहयोग गर्ने विषयदेखि अन्य महत्त्वपूर्ण आर्थिक तथा सुरक्षा मुद्दामा ठोस उपलब्धि ननिस्किएपछि त्यस भ्रमणलाई मिश्रित परिणामका रूपमा हेरिएको छ ।
त्यसको ठीक तीन दिनपछि पुटिनले चीन भ्रमण गरेका छन् । यो भ्रमणलाई दुवै देशबीच व्यावहारिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ ।
पुटिन–सीबिच वार्तापछि दुई देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्। संयुक्त विज्ञप्तिमा रुस र चीनले समान र सन्तुलित बहुध्रुवीय विश्व र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्दै अझ न्यायपूर्ण र निष्पक्ष विश्व व्यवस्थाका लागि आह्वान गरेका छन्।
यस्तै रुस र चीनले बहुध्रुवीय विश्व र न्यायपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धका लागि मिलेर काम गरिरहने उल्लेख गरेका छन्।
शिखर सम्मेलनका क्रममा चीन र रुसले व्यापार र प्रविधिसँग सम्बन्धित २० भन्दा बढी सम्झौतामा हस्ताक्षर गरेका छन्।
सीले चीन र रुसले ‘अधिक न्यायपूर्ण र तर्कसंगत विश्वव्यापी शासन प्रणाली’लाई प्रवर्द्धन गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् भने पुटिनले आफूहरूको सम्बन्ध ‘साँच्चै अभूतपूर्व स्तर’मा पुगेको उल्लेख गरेका छन्।
बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको वार्ताको उद्घाटन सत्रमा दुवै नेताले मैत्रीपूर्ण सहयोग सम्बन्धी सन्धि विस्तार गर्ने घोषणा गर्दै दुई देशबीचको सम्बन्धलाई विशेष महत्त्व दिएका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले पुटिनसँग ‘राजनीतिक आपसी विश्वास र रणनीतिक समन्वयलाई निरन्तर गहिरो बनाइएको’ बताएका थिए।




प्रतिक्रिया