काठमाण्डु– छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जेठ २० गते (जुन ३) गते म्याराथन आयोजना गर्ने भएको हो ।
यस म्याराथनमा समुद्री सतहबाट चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट दौडिएर धावकहरू ४२.१९५ किलोमिटर दूरीमा रहेको घान्द्रुकमा आउँछन् । समान्यतः पदयात्रीले तीन दिनको समय लगाउने यस पदमार्गमा पहिलो हुने धावकहरूले चार घण्टा बढीको समयमा यो दूरी पार गर्ने गरेका छन् ।
यसअघिका पाँचौ संस्करणसम्म प्रथम हुने धावकहरूले चार घण्टा १६ मिनेटदेखि चार घण्टा २७ मिनेटसम्ममा यो दूरी पार गरेको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए । “पदयात्राका क्रममा भने यो मार्ग पार गर्न तीन दिन लाग्छ”, उनले भने , “पदयात्राका क्रममा पहिलो दिन पदयात्रीहरू आधार शविरबाट बम्बो या दोभान, दोस्रो दिन छोम्रोङ र तेस्रो दिन घान्द्रुक आउँछन् ।”
अन्नपूर्ण आधार शिविरबाट सुरु हुने यो म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर देउराली, हिन्कु केभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा पुगेर सम्पन्न हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिव मिकास गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशमा अन्नपूर्ण, धौलागिरि, मनास्लुजस्ता हिमशृङ्खला छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लम्जुङ आदि हिमाल रहेका छन् ।




प्रतिक्रिया