काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लीमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानूनी प्रबन्ध गर्न माग गरिन् । ‘म सरकारँग माग गर्दछु, किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फस्र्यौैट गर्ने कानूनी ग्यारेण्टी गरियोस्’, उनले भनिन् ।
किसानले दूध, उखु, धान, लगायत उत्पादनको मूल्य नपाउँदा युवाहरु रोजगारीका लागि खाडी मुलुक जान बाध्य रहेको उनको भनाइ थियो ।
‘मकवानपुरका दूध उत्पादक किसानको १४ करोडभन्दा बढीको भुक्तानी बाँकी छ । यो एउटा जिल्लाको मात्र होइन, सभामुख महोदय देशभरका उखु, दूध, धानलगायतका धेरै उत्पादक किसाहरुको साझा नियती हो’, अधिकारीले भनिन्, ‘जब एउटा किसानले आफ्नो पसिनाको मूल्य महिनौं/वर्षौं कुर्नुपर्छ । उसले गाई–भैंसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ ? त्यसैकारण आज ऊर्जावान युवाहरु आफ्नो उर्बर भूमिलाई बाँझो छोडेर खाडीको मरुभूमिमा जान बाध्य छन् ।
किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापी ल्याउन सकिँदैन । मुलुकमा खाद्यान्न मात्र नभई, खाद्य आत्मनिर्भरता चाहिएको उनले जोड दिइन् ।




प्रतिक्रिया