मधेशमा सत्ता समीकरण फेरियो, जसपा-जनमत ‘आउट’, कांग्रेस-एमाले-नेकपा ‘इन’

मधेशमा सत्ता समीकरण फेरियो, जसपा-जनमत ‘आउट’, कांग्रेस-एमाले-नेकपा ‘इन’

मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । समीकरण फेरिएपछि जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन बनाएका छन् ।

सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्रीमा भने कृष्णप्रसाद यादव नै रहेका छन् । मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

जनमतका दुई मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए ।

जनमतबाट अर्थमन्त्री महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याणमन्त्री बसन्त कुशवाहाले राजीनामा दिएका थिए । तर जसपाका तीनजना मन्त्रीले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको छ । जसपाबाट मन्त्री रहेका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन बर्खास्तीमा परेका हुन् ।

केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएबमोजिम मधेस प्रदेशमा मधेस केन्द्रित दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ सरकार गठन भएको हो ।

यता मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर आफ्नै पार्टी कांग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए ।

तीन दलीय गठबन्धनको मधेश प्रदेशमा स्पष्ट बहुमत पुग्छ । १०७ सदस्य प्रदेश सभामा सरकारको विश्वासको लागि ५४ सिट आवश्यक पर्छ । मधेशमा लोसपा–जसपा नेपालमा एकीकरण भएर समाहित भएपछि उसको २६ सिट छ । दुईजना सांसद हाल निलम्बनमा छन् ।

एमालेको २४, कांग्रेस २२, नेकपाको १५ सिट छ । यसरी बनेको नवगठबन्धनको ६१ सिट पुग्छ । जनमतको १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एकएक जना प्रदेश सभा सदस्य छन् ।

मन्त्रिपरिषद पुनर्गठन

नयाँ सत्ता गठबन्धनसँगै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन अनुसार अर्थ मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय आफूसँगै राखेका छन्।

त्यसैगरी जङ्गीलाल राय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जवाहरलाल कुशवाहा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कनिश पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, शङ्करप्रसाद चौधरी वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्रालय, महम्मद समिर बिनाविभागीय मन्त्रालयको जिम्मा तोकिएको छ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुखसमक्ष नवनियुक्त मन्त्री महम्मद समिरले शपथ लिएका छन्।