काठमाण्डु – नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
शुक्रबार भएको अन्तर्राष्ट्रिय टी–२०को दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटको फराकिलो जित हात पारेको हो।
जितसँगै नेपालले मलेसियासँगको सिरिज २–० को क्लिन स्वीप गरेको छ। पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो
मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि सम्झना खड्का ३७ बलमा ३९ रन बनाउँदै अविजित रहिन्। कविता कुवँर २० बलमा १९ रनमा अविजित रहेको इनिङ्समा सोनी पाख्रिन १२ रनमा आउट भइन्।
मलेसियाका लागि नुर धानीया र एइसा एलिसाले समान १ विकेट हात पारिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रनको योगफल तयार गरेको थियो।
नेपालका लागि कविता कुवँर, रुबिना क्षेत्री र रिया शर्माले समान २ तथा पूजा महतो र सिता राना मगरले समान १ विकेट लिइन्।
अर्को साताबाट सुरु हुने एसियन गेम्स छनोट तथा अर्को महिनाबाट हुने एसिसी प्रिमियर कप खेल्नका लागि नेपाली टोली हाल मलेसियामा रहेको छ।




प्रतिक्रिया