कान्स फिल्म फेष्टिभल मा ‘एलिफेन्ट इन द फग’ को ऐतिहासिक रौनक

कान्स फिल्म फेष्टिभल मा ‘एलिफेन्ट इन द फग’ को ऐतिहासिक रौनक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालले ७९औँ कान्स फिल्म फेष्टिभल मा ऐतिहासिक सफलता हासिल गरेको छ। नेपाली निर्देशक अभिनाश विक्रम शाह निर्देशित फिल्म एलिफेन्ट इन द फग ले ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ जित्दै नेपाली सिनेमालाई विश्व रंगमञ्चमा नयाँ उचाइमा पुर्‍याएको हो।

१०३ मिनेटको यस फिल्मले यसअघि नै कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ सेक्सनमा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेर इतिहास रचेको थियो। अब त्यही फिल्मले उक्त विधाको सबैभन्दा ठूलो सम्मानमध्ये एक जित्दै नेपाली चलचित्र उद्योगका लागि गौरवपूर्ण अध्याय थपेको छ।

फिल्मको प्रिमियरमा सहभागी दर्शकहरूले प्रदर्शनअघि नै सम्पूर्ण टोलीको उत्साह र तनाव मिश्रित भावनालाई नजिकबाट अनुभव गरेका थिए। नेपाली सिनेमाका लागि यो क्षण कति महत्वपूर्ण थियो भन्ने अनुभूति त्यहाँ उपस्थित धेरैलाई भएको बताइएको छ।

फिल्मले तराई क्षेत्रमा बसोबास गर्ने किन्नर समुदायकी अगुवा ‘पिरती’को कथा प्रस्तुत गर्छ।

फिल्मले नेपालको जंगल आसपास बसोबास गर्ने किन्नर ट्रान्सजेन्डर समुदायको कथा प्रस्तुत गर्छ।  फिल्ममा जंगली हात्तीहरू बसोबास गर्ने घना जंगलको बीचमा रहेको नेपालको एक गाउँमा किन्नर समुदायकी अगुवा पिरती आफ्नो प्रेमीसँग नयाँ जीवन सुरु गर्ने सपना देखिरहेकी हुन्छिन्। तर उनकी एक छोरी हराएपछि उनी सत्य खोज्न बाध्य हुन्छिन्। त्यसक्रममा उनले आफ्नो स्वतन्त्र जीवनको चाहना र समुदायप्रतिको जिम्मेवारीबीच कठिन निर्णय लिनुपर्ने अवस्था सामना गर्छिन्।

प्रेम, जिम्मेवारी, पहिचान र अस्तित्वका विषयलाई गहिरो मानवीय संवेदनासहित चित्रण गरिएको फिल्मले अन्तर्राष्ट्रिय समीक्षक र दर्शकबाट उच्च प्रशंसा पाएको छ।

निर्देशक शाहको यो पहिलो फिचर फिल्म हो। यसअघि उनको छोटो फिल्म लोरी ले पनि २०२२ मा कान्समा विशेष जुरी सम्मान प्राप्त गरेको थियो।

कान्सको रेड कार्पेटमा नेपाली टोलीको उपस्थिति, फिल्मको विश्व प्रिमियर र त्यसपछि प्राप्त भएको यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली सिनेमाप्रेमीलाई भावुक र गौरवान्वित बनाएको छ। धेरैले यसलाई नेपाली कथावाचन, संघर्ष र सिर्जनशीलताको विश्वस्तरीय मान्यता भएको बताएका छन्।

फिल्म प्रदर्शन सकिएपछि हलभरि दर्शकले करिब आठ मिनेटसम्म उभिएर ताली बजाएका थिए। धेरै दर्शक भावुक बनेका थिए भने टोलीका सदस्यहरू स्वयं पनि आँसु थाम्न सकेनन्। नेपाली कथाले अन्तर्राष्ट्रिय दर्शकलाई यति गहिरोसँग जोडेको दृश्यलाई उपस्थितहरूले गौरवपूर्ण क्षणका रूपमा लिएका छन्।

फिल्मको सफल प्रस्तुतिपछि निर्देशक शाह र एलिफेन्ट इन द फगको सम्पूर्ण टोलीलाई विश्वभर रहेका नेपाली समुदाय तथा चलचित्रकर्मीहरूले बधाई दिएका छन्। साथै सामाजिक सञ्जालदेखि चलचित्र क्षेत्रसम्मबाट बधाईको ओइरो लागेको छ। यो उपलब्धिलाई नेपाली सिनेमाको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण फड्कोका रूपमा हेरिएको छ।