विवादित नेपाली भूमिमा उपस्थिति बढाउँदै भारत, गुञ्जीमा सैनिक विद्यालय खुल्यो

विवादित नेपाली भूमिमा उपस्थिति बढाउँदै भारत, गुञ्जीमा सैनिक विद्यालय खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सीमावर्ती महाकाली नदीको उद्गमनस्थल लिम्पियाधुरालाई मानेर नेपालको भूमिमा पर्ने गुञ्जी क्षेत्रमा भारतले उपस्थिति बढाउँदै लगेको छ ।

दार्चुलाको उत्तरी त्रिदेशीय नेपाल–चीन–भारतको सीमानजिकै पर्ने नेपाली भूमि गुञ्जीमा सैनिक विद्यालय स्थापना गरेर भारतले उपस्थिति बलियो बनाउन थालेको छ ।

गुञ्जी क्षेत्रमा भारतीय सेनाले आवासीय सुविधा सहितको विद्यालय सञ्चालनमा ल्याएको छ । भारतीय सञ्चारमाध्यम जागरण अनलाइनमा प्रकाशित समाचारअनुसार भारतको उत्तराखण्डस्थित पिथौरागढ प्रशासन र भारतीय सेनाले संयुक्त रूपमा विद्यालय भवन उद्घाटन गरिएको छ ।

भारतीय सेनाले अपरेशन सद्भावनाअन्तर्गत करिब ७२ लाख भारतीय रुपैयाँ खर्च गरेर कम्प्युटर ल्याब, बाल उद्यान (किड्स पार्क) लगायत सुविधा भएको आधुनिक विद्यालय भवन निर्माण गरेको जनाइएको छ । समाचारअनुसार विद्यालय भवन गुञ्जी ग्राम सभालाई हस्तान्तरण गरिएको छ भने प्रारम्भिक चरणमा भारतीय सेनाले नै नर्सरी कक्षाहरू सञ्चालन गर्नेछ ।

भारतीय पक्षले गुञ्जी, नाबी, कुटी र नपलच्यू गाउँका बालबालिकालाई विद्यालयमा भर्ना गरिने जनाएको छ । यीमध्ये गुञ्जी, नाबी र कुटी नेपाली भूभागमा पर्छन्, जुन क्षेत्र हाल भारतकै कब्जामा रहेको छ ।

गुञ्जी क्षेत्र नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेको संवेदनशील भूमि हो । नेपाल सरकारले २०७७ सालमा सार्वजनिक गरेको नयाँ नक्सामा गुञ्जी, नाभी र कुटी गाउँलाई नेपालको दार्चुला जिल्लाअन्तर्गत समावेश गरेको थियो । यी क्षेत्र हाल भारतको प्रशासनिक नियन्त्रणमा छन् ।

भारतले यही क्षेत्र हुँदै कैलास–मानसरोवर यात्राका लागि सडक निर्माण गरेपछि विवाद थप चर्किएको थियो । स्थानीय तथा ऐतिहासिक अभिलेखअनुसार गुञ्जी क्षेत्रका वासिन्दाले २०३५ सालसम्म नेपाल सरकारलाई तिरो तथा बाली बुझाउने गरेका तथ्यहरू पनि सार्वजनिक हुँदै आएका छन् । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसहित गुञ्जीलाई आफ्नो अभिन्न भू–भाग मानेको छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारमा उद्घाटन कार्यक्रममा भारतीय सेनाका उच्च अधिकारी, धारचुलाका शिक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा पूर्व प्रहरी अधिकारी तथा हाल गुञ्जी ग्राम प्रधान रहेकी विमला गुंज्याल लगायत स्थानीय व्यक्तिहरू उपस्थित थिए ।

नेपालको गुञ्जीमा भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा शैक्षिक तथा पूर्वाधार गतिविधि विस्तार हुनु अतिक्रमणलाई संस्थागत बनाउने अर्को कदम बनेको छ ।

दार्चुलाको व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले गुञ्जी क्षेत्र हाल भारतकै प्रशासनिक नियन्त्रणमा रहेकाले स्थानीय स्तरमा केही गर्न नसकिने बताए ।