काठमाण्डु – इरान युद्धका कारण ४ दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ शनिबार चीन प्रस्थान गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ उच्च अधिकारीसँग भेट्ने कार्यक्रम तय भएको तर उनीहरूबिच मध्यपूर्वमा द्वन्द्वको बारेमा छलफल हुनेछ वा हुनेछैन भन्ने विषयमा चिनियाँ विदेश मन्त्रालयले अझै भनाइ सार्वजनिक गरेको छैन ।
इस्लामाबाद र बेइजिङ दुवैले मध्यपूवै तनाव अन्त्यका लागि मध्यस्थता गर्न खोजेका छन् ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको बताएका छन् । फेब्रुअरीमा इरानमाथि अमेरिका–इजरायल आक्रमणबाट सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासस्वरूप पाकिस्तानको मध्यस्थतामा ८ अप्रिलदेखि २ हप्ताका लागि युद्धविरामको घोषणा गरिएको थियो ।
युद्धले मध्यपूर्वलाई संकटग्रस्त बनाएको छ भने र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको छ ।
चीनको ४ दिने औपचारिक भ्रमणको लागि प्रधानमन्त्री सरिफ शनिबार झेजियाङ प्रान्तको हाङझोउस्थित विमानस्थलमा अवतरण गरेका चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
यसै हप्ताको सुरुमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले साझा चासोका विषयहरूमा मात्र छलफल हुने बताएका थिए ।
गुओले मध्यपूर्वमा शान्ति र स्थिरताको शीघ्र बहालीका लागि चीनले पाकिस्तानसँग मिलेर काम गर्ने बताए । उनले भने, ‘शान्ति प्रबर्द्धन गर्न र युद्ध अन्त्य गर्न निष्पक्ष र सन्तुलित मध्यस्थताको भूमिका निर्वाह गर्न चीनले पाकिस्तानलाई सहयोग गर्नेछ ।’
पाकिस्तान संयुक्त राज्य अमेरिका र इरानबिच केन्द्रीय मध्यस्थकर्ताको रूपमा देखा परेको छ, जसले गत महिना ऐतिहासिक प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो तर वार्ताले दिगो समाधान दिन नसकेपछि थप वार्ताको पहल भइरहेको छ ।
बितेका २ हप्तामा बइेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण भएको छ भने पाकिस्तानी प्रधानमन्त्री हालै चीन भ्रमण गर्ने तेस्रो उच्च पदस्थ विदेशी नेता बनेका छन् ।




प्रतिक्रिया