अन्तरराष्ट्रिय महिला भलिबलमा कीर्गिस्तानमाथि नेपालको जीत

अन्तरराष्ट्रिय महिला भलिबलमा कीर्गिस्तानमाथि नेपालको जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा नेपालले कीर्गितानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो ।

जीतसँगै सेमिफाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो ।

नेपालले शनिबार कीर्तिस्तानमाथि पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्‍यो । खेलको दोस्रो सेटमा नेपालले २५–२० को नतिजा निकाल्दा तेस्रो तथा अन्तिम सेट २५–१३ को अन्तरमा पाखा लगाउँदै जीत हासिल गर्न सफल भयो । खेलमा नेपालकी सुमित्रा रेग्मी ‘प्लेअर अफ दी म्याच’ घोषित भइन् ।

जीतसँगै नेपालले २ खेलबाट ४ अंक जोड्दै समूह ‘ए’मा दोस्रो स्थानमा उक्लिएको छ । कीर्गिस्तानको भने यो पहिलो हार हो । कीर्गिस्तानको २ खेलबाट ३ अंक रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल आईतबार माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले यदि माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल यात्रा तय गर्नेछ । यता कीर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ । प्रतियोगितामा विभिन्न ८ राष्ट्र सहभागी छन् । जसलाई २ समूहमा विभाजन गरेको छ । समूह ‘ए’मा घरेलु टोली नेपालसँगै कीर्तिस्तान, माल्दिभ्स र भारत छन् ।

समूह ‘बी’मा श्रीलंका, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् । प्रतियोगितामा आईतबार ३ खेल हुनेछ । पहिलो खेल १२ बजे इरान र श्रीलंकाबिच हुनेछ भने साढे २ बजे हुने दोस्रो खेलमा काजकिस्तान र बङ्गलादेशबिच प्रतिस्पर्धा हुनेछ । नेपाल र माल्दिभ्सबिचको तेस्रो खेल साँझ ५:०० बजेदेखि सुरु हुनेछ ।