नेपाल अन्तरराष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश

नेपाल अन्तरराष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आईतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो ।

जीतसँगै ३ खेल खेलेको नेपालको ७ अंकसहित अंक तालिकाको शीर्षस्थानमा छ । नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने हिजो भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई हराएको थियो ।

नेपालकै समूहमा रहेको भारत दोस्रो स्थानमा छ । भारतको ५ अंक छ । सोही समूहमा रहेको कीर्गिस्तानको ३ अंक छ भने माल्दिभ्स अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ ।

सोमबार हुने समूह ‘ए’ अन्तर्गत भारत र कीर्गिस्तानको खेलपछि नेपालको समूहको विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।

नेपालले आईतबार माल्दिभ्समाथि पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पार्‍यो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो । खेलको तेस्रो तथा अन्तिम सेट नेपालले माल्दिभ्समाथि  २५–२० को जीत निकाल्यो ।

समूह ‘बी’बाट भने कजाखस्तान र इरान सेमिफाइनलमा पुगेका छन् । कजाखस्तानले बङ्गलादेशलाई ३–० सेटमा हराउँदा इरानले श्रीलंकालाई पनि ३–० कै सेटमा हरायो । प्रतियोगिताको समूह ‘बी’बाट श्रीलंका र बङ्गलादेश समूह चरणबाटै बाहिरिएका छन् ।