युद्धविरामकाबीच अमेरिकाले गर्‍यो दक्षिणी इरानमा नयाँ आक्रमण

युद्धविरामकाबीच अमेरिकाले गर्‍यो दक्षिणी इरानमा नयाँ आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ । त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछाउने प्रयास गरिरहेका डुङ्गालाई बनाइएको अमेरिकी सेनाले दाबी गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नुपरेको बताएको छ ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिएको छैन । अमेरिका र इरानबीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अन्योल छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको हो ।

अमेरिका र इरानबीच सम्झौताको खाका लगभग तय भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

आक्रमणपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने शान्ति सम्झौता अझै सम्भव रहेको बताएका छन् । भारत भ्रमणमा रहेका रुबियोले पत्रकारहरूसँग कुरा गर्दै भनेका छन्, ‘प्रगति गर्न सकिन्छ कि भनेर हेर्नेछौं । प्रारम्भिक दस्तावेजको भाषाबारे धेरै छलफल भइरहेको छ, त्यसैले केही दिन लाग्न सक्छ ।’