निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा कटौती (सूचनासहित)

निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा कटौती (सूचनासहित)

बढ्दो वित्तीय संकटका कारण सेवा कटौती : सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । बीमा बोर्डले निजी अस्पताललाई पत्राचाार गर्दै आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने जानकारी गराएको हो।

सोमबार बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू जेठ १६ गतेदेखि बन्द हुने निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जानकारी दिए। उनका अनुसार बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म स्थगित भएको छ।

पत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमा बोर्डको बोर्ड बैठकको मिति २०८३/०२/११ गतेको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएको छ । आकस्मिक सेवा भने यथावत् रहने बोर्डले जनाएको छ ।

बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब रुपैयाँ तिर्न बाँकी छ । निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफर्तको भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए ।

सरकारले भुक्तानी गर्न नसकेपछि निजी अस्पतालहरूले बीमा कार्यक्रममार्फत सेवा उपलब्ध गराउन नसक्ने बताउँदै आएका थिए । कतिपय सरकारी अस्पतालहरूले नै बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको सेवा बन्द गरिसकेका छन् ।

Screenshot