काठमाण्डु – संयुक्त राष्ट्रसंघ (यूएन) ले आगामी ५ वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ ।
राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् २०२६ देखि २०३० सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको जनाएको हो ।
विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) का अनुसार सन् २०२६–२०३० को ५ वर्षे औसत तापक्रम सन् १८५०–१९०० को पूर्व–औद्योगिक औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना ७५ प्रतिशत रहेको छ । यसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गरेको संगठनको निष्कर्ष छ ।
अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो ११ वर्ष सन् २०१५ यता मात्रै देखिएका छन् । डब्ल्यूएमओले यो क्रम अझै जारी रहने अनुमान गर्दै सन् २०३१ अगाडि नै नयाँ सबैभन्दा तातो वर्ष घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।
प्रतिवेदन सार्वजनिक भइरहँदा पश्चिमी युरोप पनि असामान्य गर्मीको चपेटामा परेको छ । बेलायत र फ्रान्समा मे महिनाकै तापक्रम रेकर्डहरू तोडिएका छन् भने पश्चिमी युरोपका विभिन्न क्षेत्र ‘तातो गुम्बज’ भनिने उच्च तापीय प्रणालीको प्रभावमा परेका छन् ।
डब्ल्यूएमओले आगामी ५ वर्ष विश्वव्यापी औसत तापक्रम निरन्तर रेकर्ड स्तरमा वा त्यसको आसपास रहने सम्भावना रहेको स्पष्ट पारेको छ । संगठनका अनुसार सन् २०२६ र २०३० बिचको कम्तीमा १ वर्षले सन् २०२४ लाई उछिन्दै इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना ८६ प्रतिशत रहेको छ ।
यसबिच जलवायु चक्रसँग जोडिएको ‘एल निनो’ प्रभावले तापक्रमलाई थप उकालो लाग्न सक्ने अनुमान गरिएको छ । डब्ल्यूएमओको ‘ग्लोबल एन्युअल–टु–डिकेडल अपडेट’का प्रमुख लेखक लियोन हर्मनसनले सन् २०२६ को अन्त्यतिर एल निनो विकास हुने पूर्वानुमान गरिएको बताए । उनका अनुसार त्यसको प्रभावले सन् २०२७ लाई अर्को कीर्तिमानी तातो वर्ष बनाउने सम्भावना अझ बढाउन सक्छ ।
यसअघिको एल निनो घटनाले सन् २०२३ लाई अभिलेखमा दोस्रो सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो भने सन् २०२४ को तापक्रम पूर्व–औद्योगिक औसतभन्दा १.५५ डिग्री सेल्सियस माथि पुगेको थियो ।
एल निनो एउटा प्राकृतिक जलवायु प्रक्रिया हो, जसले मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम बढाउँछ । यसको प्रभावले विश्वभर हावाको गति, मौसमको अवस्था र वर्षाको ढाँचामा उल्लेखनीय परिवर्तन देखिन्छ । यो चक्र सामान्यतया प्रत्येक २–७ वर्षको अन्तरालमा देखिने र करिब ९–१२ महिनासम्म रहने गर्छ ।
सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्व तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा तल, सम्भव भएसम्म १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य तय गरेको थियो । यी लक्ष्यहरू मानव समाजले ठूलो मात्रामा कोइला, तेल र ग्यास जलाउन सुरु हुनुअघिको सन् १८५०–१९०० को औसत तापक्रमलाई आधार मानेर निर्धारण गरिएका हुन् । यिनै जीवाश्म इन्धनबाट निस्किने कार्बन डाइअक्साइडलाई जलवायु परिवर्तनको प्रमुख कारण मानिन्छ ।
डब्ल्यूएमओको अद्यावधिक प्रतिवेदनले सन् २०२६–२०३० अवधिमा वार्षिक विश्वव्यापी सतह नजिकको औसत तापक्रम पूर्व–औद्योगिक औसतभन्दा १.३ डिग्रीदेखि १.९ डिग्री सेल्सियससम्म माथि रहने अनुमान गरेको छ ।
संगठनका अनुसार सन् २०२६ देखि २०३० बिचको कम्तीमा १ वर्षमा विश्वव्यापी औसत तापक्रम अस्थायी रूपमा १.५ डिग्री सेल्सियसभन्दा माथि जाने सम्भावना ९१ प्रतिशत पुगेको छ । पूरै ५ वर्षको औसत नै १.५ डिग्रीको सीमाभन्दा माथि रहने सम्भावना ७५ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
यद्यपि आगामी ५ वर्षभित्र कुनै १ वर्षको तापक्रम पूर्व–औद्योगिक आधाररेखाभन्दा २ डिग्री सेल्सियसभन्दा बढी पुग्ने सम्भावना अत्यन्त न्यून रहेको डब्ल्यूएमओले जनाएको छ । संगठनका अनुसार यस्तो अवस्था आउन सक्ने सम्भावना १ प्रतिशतभन्दा कम मात्रै छ ।
प्रतिवेदनले आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतभन्दा धेरै तीव्र हुने चेतावनी पनि दिएको छ । आगामी ५ उत्तरी गोलार्धीय जाडो मौसम (नोभेम्बरदेखि मार्चसम्म) मा आर्कटिकको तापक्रम सन् १९९१–२०२० को औसतभन्दा करिब २.८ डिग्री सेल्सियस बढी रहने अनुमान गरिएको छ । यो सोही अवधिको विश्वव्यापी औसत तापक्रम वृद्धिभन्दा ३ गुणाभन्दा बढी हो ।
डब्ल्यूएमओले १.५ डिग्रीको सीमा आगामी वर्षहरूमा अझ धेरैपटक पार हुन सक्ने चेतावनी दिएको छ । तर पेरिस सम्झौतामा उल्लेख गरिएको १.५ र २ डिग्रीको सीमा दीर्घकालीन, सामान्यतया २० वर्षभन्दा बढी अवधिको औसत तापक्रमसँग सम्बन्धित भएकाले अस्थायी रूपमा त्यो सीमा नाघिनुले दीर्घकालीन लक्ष्य पूर्णत: असम्भव भइसकेको अर्थ नलाग्ने संगठनले स्पष्ट पारेको छ ।
गत वर्ष पनि अभिलेखमा रहेका ३ सबैभन्दा तातो वर्षमध्ये एक थियो । विश्वव्यापी सतह नजिकको औसत तापक्रम सन् १८५०–१९०० को आधाररेखाभन्दा करिब १.४३ डिग्री सेल्सियसमाथि पुगेको अनुमान गरिएको थियो ।
बेलायतको मौसम कार्यालय राष्ट्रिय मौसम सेवा तथा डब्ल्यूएमओको वार्षिकदेखि दशकीय जलवायु पूर्वानुमान केन्द्रले तयार पारेको प्रतिवेदनमा १३ विभिन्न संस्थाका पूर्वानुमानहरू समेटिएका छन् ।
प्रतिवेदनले सन् २०२६ देखि २०३० सम्म मेदेखि सेप्टेम्बरसम्मको वर्षा ढाँचामा पनि ठूलो क्षेत्रीय अन्तर देखिन सक्ने जनाएको छ । त्यसअनुसार साहेल क्षेत्र, उत्तरी युरोप, अलास्का र साइबेरियामा सामान्यभन्दा बढी वर्षा हुने संकेत देखिएको छ भने अमेजन क्षेत्रमा असामान्य सुक्खापन कायम रहने पूर्वानुमान गरिएको छ । (रासस/एएफपी)




प्रतिक्रिया