तेहरान – मध्यपूर्व युद्ध सुरु भएको ३ महिनापछि बिहीबार संयुक्त राज्य अमेरिका र इरानले एकअर्कालाई जारी युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।
पछिल्लो आरोप प्रत्यारोप अमेरिका र इरानबिच ८ अप्रिलमा युद्धविराम सुरु भएपछिको सबैभन्दा गम्भीर आरोप हो । यसले युद्ध अन्त्यका लागि जारी वार्ता प्रयासलाई प्रभावित पारेको छ । अमेरिकी सहयोगी कुवेतले इरानले तनावलाई ‘खतरनाक वृद्धि’तर्फ धकेलेको आरोप लगाएको छ ।
इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरुत नजिकै आक्रमण बढाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ । बिना अनुमति स्ट्रेट अफ हर्मुज पार गर्न खोज्ने ४ वटा जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आईआरआईबीले बिहीबार जनाएको छ । इरानले युद्ध सुरु भएदेखि अर्थात् २८ फेब्रुअरीदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ ।
अमेरिकी सेनाले भनेको छ, ‘आफ्नो समूहले हर्मुज र वरपरका ५ वटा ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिणी बन्दरगाह क्षेत्रको भू–नियन्त्रित स्टेशनबाट छैटौँ आक्रमणलाई रोकेको थियो ।
बन्दर अब्बासमा भएको आक्रमणले इरानलाई आक्रमणको स्रोतको रूपमा रहेको अमेरिकी सैन्य हवाई अड्डालाई निशाना बनाउन प्रेरित गरेको इरानको रिभोलुसनरी गार्ड्सलाई उद्धृत गर्दै आईआरआईबीले लेखेको छ ।
गार्ड्सले सैन्य आधार कहाँ छ भनेर स्पष्ट पारेको छैन तर अमेरिकी सेनालाई आफ्नो भूमिमा शिविर राख्न दिएको कुवेतले आफ्नो हवाई प्रतिरक्षाले आक्रमणको जवाफ दिएको बताएको छ ।
कुबेतको विदेश मन्त्रालयले पछि कुवेतको भूमिलाई लक्षित गरी मिसाइल र ड्रोनद्वारा गरिएको आपराधिक आक्रमणको निन्दा गर्दै यसले खाडी क्षेत्रमा खतरनाक द्वन्द्वको वृद्धि गरेको बताएको थियो ।
अमेरिकी सेन्ट्रल कमान्डले इरानी आक्रमणलाई युद्धविराम उल्लंघन भनेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले तेहरानले आफ्नो राष्ट्रिय सम्प्रभुताको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्ने बताएका छन् ।
अमेरिकी अधिकारीले एएफपीसँग युद्धविरामको रक्षा गर्ने उद्देश्यले इरानमा कारबाही गरिएको बताएका थिए । इरानका गार्ड्सले बिहीबार थप आक्रमण भएको खण्डमा कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।
यस भिडन्तले द्वन्द्वलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यका साथ भइरहेको वार्ताको अनिश्चिततालाई संकेत गरेको छ । यद्यपि कुनै पनि पक्ष पूर्ण युद्धमा फर्कन उत्सुक देखिएका छैनन् ।
बिहीबारको हमलाअघि इरानको राजधानीमा रहेका २७ वर्षीय सफ्टवेयर डेभलपर आमिरले युद्धविराम र सम्झौताको चर्चाका बाबजुद नयाँ लडाइँको डर सधैँ रहेको बताए । ‘मलाई लाग्छ, केही पनि निश्चित छैन,’ उनले भने, ‘सर्वसाधारणको अहिले दैनिक प्रश्न के हुने गरेको छ भने के आज राति मिसाइल आक्रमण हुनेछ ?’ (रासस/एएफपी)




प्रतिक्रिया