राजस्व बढाउन हरित कर, कुनमा कति ?

राजस्व बढाउन हरित कर, कुनमा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण संशोधन गरेको छ ।

सरकारले बजेटमार्फत ३६० वटा वस्तुमा लाग्दै आएको अन्त:शुल्क खारेज गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरजस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो ।

छरिएर रहेका करका शीर्षकहरूलाई एकीकृत गरी राजस्व बढाउने उद्देश्यले हरित कर शीर्षकमा बढाइएको छ ।

आर्थिक विधेयकअनुसार हरित कर पेट्रोलमा साबिकको प्रतिलिटर १ रुपैयाँबाट बढाएर प्रतिलिटर १५ रुपैयाँ बनाइएको छ । यसमा सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर लगायतका करहरू समायोजन गरी हरित करमा राखिएको छ । हाइ स्पीड डिजेल प्रतिलिटर १ रुपैयाँबाट बढाएर १३ रुपैयाँ पुर्‍याइएको छ ।

विद्युत् सञ्चित गर्ने खालको इलेक्ट्रिक एकुमुलेटर, तिनका विभाजक सपोटर, पावर बैंक जस्ता वस्तुमा १५ प्रतिशत हरित कर लगाइएको छ । भ्याकुम क्लिनर तथा त्यसका पाटपूर्जामा ५ प्रतिशत हरित कर लगाइएको छ ।

स्पार्किङ प्लग, डिस्ट्रिब्युटर, स्टार्टर जेनेरेटर तथा अन्य जेनेरेटरहरूमा पनि ५ प्रतिशत हरित कर लगाइएको छ ।

स्मार्ट फोन, सेलुलर सञ्जालहरू वा अन्य तारविहीन सञ्जालका लागि प्रयोग हुने टेलिफोनहरूमा ५ प्रतिशत हरित कर लगाइएको छ । स्मार्ट घडीमा १५ प्रतिशत र नेटवर्किङ स्वीच, राउटर लगायत वस्तुमा ५ प्रतिशत हरित कर लगाइएको छ ।

माइक्रोफोन तथा त्यसका स्टान्डहरुमा १५ प्रतिशत, लाउड स्पिकर, हेडफोन तथा एअरफोनमा १० प्रतिशत, सिमकार्ड, मेमोरी कार्ड, स्मार्ट कार्ड, प्रोजेक्टर लगायतका वस्तुमा पनि १० प्रतिशत हरित कर लगाइएको छ । संग्रहण उपकरण समाविष्ट भएका ट्रान्समिसन उपकरणहरू, टेलिभिजन क्यामेरा, डिजिटल क्यामेरा, भिडियो क्यामेरा रेकर्डर, सीसीटीभी क्यामेरा जस्ता वस्तुमा ५ प्रतिशत हरित कर लगाइएको छ ।

१ हजार भोल्ट ननाघ्ने भोल्टेजका लागि विद्यतीय सर्किटहरूलाई स्वीच गर्न वा संरक्षण गर्नका लागि वा विद्युतीय सर्किटहरूमा सम्पर्क बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणहरू जस्तै: स्वीच, रिले, फ्युज, सर्च सप्रेसर, प्लग, सकेट, ल्याम्प होल्डर, अन्य कनेक्टरहरू तथा अप्टिकल फाइबरमा १५ प्रतिशत हरित कर लगाइएको छ । इलेक्ट्रोनिक चुरोटहरू, भेपमा ६० प्रतिशत हरित कर लगाइएको छ ।