काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा गुजरात टाइटन्स प्रवेश गरेको छ ।
शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा कप्तान शुभमन गिलको विष्फोटक शतकीय इनिङमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा पुगेको हो ।
राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य गुजरातले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । गुजरातका शुभमनले सर्वाधिक १ सय ४ रनको शतकीय इनिङ खेले ।
यस्तै, साई सुदर्शनले ५८ र राहुल तोवाटियाले १७ र वासिङ्टन सुन्दरले १६ रन बनाए । राजस्थानका नान्द्रे बर्गर, ब्रिजेश शर्मा र जोफ्रा आर्चरले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो ।
राजस्थानका वैभव सूर्यवंशीले ९६ रनको अर्धशतकीय पारी खेले । यस्तै, रविन्द्र जडेजाले ४५, डोनोभान फरेराले ३८ तथा रियान परागले ११ रनको योगदान दिए । गुजरातका जेसन होल्डर र कागिसो रबाडाले २–२ विकेट लिए ।
यो जितसँगै गुजरातले अब आइतबार फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि खेलिएको क्वालिफायर–१ मुकावलामा गुजरात टाइटन्सलाई पराजित गर्दै बेंगलुरुले सिधै फाइनलको यात्रा तय गरेको हो ।
क्वालिफायर–१ मा व्यहोरेको पराजयपछि गुजरात टाइटन्सले क्वालिफायर–२ मा राजस्थान रोयल्सलाई ७ विकेटले स्तब्ध पार्दै फाइनलमा बेंगलुरुसँगको भेट पक्का गरेको हो ।
दुवै टोली आफ्नो इतिहासको दोस्रो आईपीएल उपाधि जित्ने दाउमा मैदान उत्रिनेछन्। लिग चरणमा १० टोलीमध्ये शीर्ष स्थानमा रहेको बेंगलुरु समग्रमा पाँचौँ पटक फाइनलमा पुगेको हो। यसअघि टोलीले सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलिसकेको छ।
गुजरात टोली हार्दिक पाण्ड्याको कप्तानीमा २०२२ र २०२३ मा फाइनलमा पुगेको थियो। ५ वर्षको इतिहासमा गुजरातको यो तेस्रो फाइनल यात्रा हो।




प्रतिक्रिया