संयुक्त राष्ट्रसंघ । दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन उद्धार कार्य तथा राहत सामग्री वितरणमा गम्भीर अवरोध सिर्जना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयका अनुसार दक्षिणी लेबनानको नाबाटिये क्षेत्रमा भएको आक्रमणले मार्जायौन जिल्लाको एक प्रमुख सडकमा क्षति पुर्याएको छ । सडक घाइतेहरूको उद्धार, राहतकर्मीहरूको आवतजावत तथा सर्वसाधारणलाई अत्यावश्यक वस्तु तथा सेवामा पहुँच पुर्याउन महत्वपूर्ण मानिन्छ ।
स्थानीय स्रोतहरूका अनुसार दक्षिणी क्षेत्रको माराकाह नगरपालिकामा भएको छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अल–बस प्यालेस्टिनी शरणार्थी शिविरमा ३ जनाको ज्यान गएको र करिब ३७ जना घाइते भएका छन् ।
बारम्बार जारी गरिएका विस्थापन आदेशका कारण धेरै परिवारहरू घर छोड्न बाध्य भएका छन् । सुरक्षा अवस्था परिवर्तन भइरहँदा उनीहरू पुन: फर्किने र फेरि विस्थापित हुने अवस्था दोहोरिएको छ । टायर सहरका आश्रयस्थलहरू भरिइसकेको बताइएको छ भने धेरै विस्थापित परिवारहरू उत्तरतर्फ सर्न थालेका छन् ।
संयुक्त राष्ट्रसंघले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि आफ्ना साझेदार संस्थामार्फत देशभर जीवनरक्षक सहायता उपलब्ध गराइरहेको जनाएको छ । २ मार्चयता विश्व खाद्य कार्यक्रम र साझेदार संस्थाहरूले द्वन्द्व प्रभावित समुदायलाई १ करोड १० लाखभन्दा बढी तातो तथा चिसो भोजन वितरण गरेका छन् ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय र साझेदारहरूले विस्थापित परिवारलाई १ लाख ७० हजारभन्दा बढी कम्बल र १ लाख ३० हजार गद्दा उपलब्ध गराएका छन् ।
लेबनानका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक इमरान रिजाले देशभर बढ्दो हिंसा र विस्थापन आदेशका कारण समुदायहरूमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले विस्थापन आदेश जारी भएका क्षेत्रबाट भाग्ने क्रममा सर्वसाधारण पनि हवाई आक्रमणको सिकार बनेको जानकारी प्राप्त भएको बताए ।
संयुक्त राष्ट्रसंघका अनुसार लेबनानी सरकारी तथ्यांकले २ मार्चयता कम्तीमा ३ हजार ३५५ जनाको मृत्यु भएको र १० हजार ९५ जना घाइते भएको देखाएको छ । (रासस/सिन्ह्वा)




प्रतिक्रिया