काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आईतबार सामाजिक सञ्जाल फेसबूकमार्फत प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको बताए ।
आचार्यले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि अरूको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन् । उनका अनुसार ऐतिहासिक दस्तावेज, नक्सा र तथ्यहरूले नेपालको भूमि अतिक्रमणमा परेको विषयलाई स्पष्ट रूपमा देखाउने भएकाले प्रधानमन्त्रीको भनाइले भ्रम सिर्जना गरेको छ ।
उनले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेको नेतृत्वबाट नेपाललाई नै दोषी देखाउने अभिव्यक्ति आउनु राष्ट्रिय हितमाथिको गम्भीर आघात भएको बताए ।
एमालेले प्रधानमन्त्रीको भनाइले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, इतिहास तथा सीमासम्बन्धी अध्ययन–अनुसन्धानमा संलग्न विज्ञहरू र आम नेपाली जनताको भावनामाथि चोट पुगेको जनाएको छ । राष्ट्रिय स्वाधीनता र सीमाजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति अपरिपक्व र भ्रमपूर्ण रहेको एमालेको ठहर छ ।
एमालेले प्रधानमन्त्रीको भनाइ सच्याउँदै सरकारलाई संसद् तथा आमजनतासमक्ष स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा कुनै पनि प्रकारको अस्पष्टता वा सम्झौता स्वीकार्य नहुने एमालेले जनाएको छ ।




प्रतिक्रिया