रास्वपा सचिवालय बैठक बस्दै, अनुशासन आयोगमा मनोनयनदेखि विधान संशोधनसम्मका कार्यसूची

रास्वपा सचिवालय बैठक बस्दै, अनुशासन आयोगमा मनोनयनदेखि विधान संशोधनसम्मका कार्यसूची

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सचिवालयको बैठक आज आईतबार बस्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेको आह्वानमा आईतबार साँझ ८ बजे भर्चुअल माध्यम (जुम) बाट बैठक बस्न लागेको हो ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रेषित गरेको सूचना अनुसार बैठकमा समसामयिक राजनीति, आसन्न महाधिवेशन र पार्टीको आन्तरिक साङ्गठनिक संरचनासँग सम्बन्धित विभिन्न ९ वटा मुख्य कार्यसूचीहरूमाथि छलफल र निर्णय हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिबारे समीक्षा गरिनेछ । अनुशासन आयोग, निर्वाचन आयोग र पार्टीका विभिन्न विभागहरूमा मनोनयन गर्ने कार्यसूची रहेको छ ।

बैठकमा पार्टीभित्रको अनुशासनात्मक कारबाही र पार्टीको विधान संशोधनका सम्बन्धमा महत्वपूर्ण छलफल हुनेछ ।

आगामी महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरू गठन गर्ने तथा महाधिवेशन निर्वाचन कार्यविधि र प्रदेश अधिवेशन कार्यविधिका सम्बन्धमा निर्णय लिइनेछ ।

बैठकमा संघीय संसद्मा रहेका रास्वपाका सांसदहरूको पार्टीभित्रको जिम्मेवारी बाँडफाँट र कार्यविभाजनबारे छलफल हुनेछ ।

विविध कार्यसूचीअन्तर्गत जिल्ला अधिवेशन कार्यविधिमा संशोधन गर्नेबारे छलफल हुनेछ । प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवारहरूलाई १ तहमाथिको अधिवेशनमा प्रतिनिधि बनाउने विषयमा पनि रास्वपाले नीति तय गर्दैछ । सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभइकनै पनि १ तहमाथिको अधिवेशनमा प्रतिनिधि बन्न पाउने व्यवस्थाबारे समेत बैठकमा छलफल गरी निर्णय गरिने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।