काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरेको छ ।
रास्वपाले आगामी २०८३ असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने तय गरिसकेको छ ।
महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टीले सांगठनिक तयारीलाई तीव्र पार्दै मूल आयोजक समिति घोषणा गरेको छ ।
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गठित मूल आयोजक समितिमा पार्टीका शीर्ष नेता, सांसद तथा केन्द्रीय सदस्यहरूलाई समेटिएको छ । समितिका सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी र बसुमाया तामाङ्ग रहेका छन् ।
पार्टीका सांसदहरू मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल र हरि ढकाल पनि मूल आयोजक समितिको सदस्य चयन भएका छन् ।
समितिको अन्य सदस्यहरूमा सरिता ज्ञवली र सागर ढकाल रहेका छन् ।
रास्वपाले केन्द्रीय तहका नेताहरूका साथै स्थानीय संगठनलाई समेत महाधिवेशन तयारीमा जोड्नका लागि पार्टीका सम्पूर्ण केन्द्रीय समितिका सदस्यहरू र सबै प्रदेश सभापतिहरूलाई मूल आयोजक समितिको सदस्यको जिम्मेवारी दिएको छ । चितवनमा हुने महाधिवेशनले रास्वपाको भावी वैचारिक दिशा र नयाँ नेतृत्व चयन गर्ने भएकाले समितिलाई तीव्र रूपमा काम अगाडि बढाउने जिम्मेवारी सुम्पिएको छ ।




प्रतिक्रिया