काठमाण्डु- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउने बताएका छन् । भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बुधबार भएको भेटमा मोदीलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का तर्फबाट नेपाल भ्रमणको निम्ता दिएका थिए ।
जवाफमा मोदीले उपयुक्त समयमा छिट्टै नेपाल भ्रमण गर्ने बताएका हुन् । ‘सभापतिले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिनुभयो’, भ्रमण दलमा रहेका एक सदस्यले भने, ‘प्रधानमन्त्री मोदीले समय मिलाएर छिट्टै आउने बताउनुभएको छ ।’
लामिछाने र मोदीबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटमा लामिछाने पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय समस्य दीपक बोहरा र भारतका तर्फबाट विदेशमन्त्री एस. जयशंकर, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल लगायत सहभागी थिए ।
भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निम्तोमा १८ जेठमा नयाँदिल्ली पुगेका लामिछाने २२ जेठमा स्वदेश फर्कनेछन् ।




प्रतिक्रिया