काठमाण्डु- निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि निर्धारित छ महिनाभित्र प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु नेपालको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे आयोजित केन्द्रीयस्तरको समीक्षा कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने संशय र विभिन्न चुनौतीका बीच नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, सरोकारवाला निकाय तथा आम नागरिकको सहभागिताले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए।
विद्रोहपछि तोकिएको छ महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन। यस निर्वाचनलाई विश्व समुदायले समेत सूक्ष्म रूपमा नियालिरहेको थियो, भण्डारीले भने।
उनले निर्वाचनको सफलता निर्वाचन आयोगको एक्लो प्रयासको परिणाम नभएको स्पष्ट पार्दै सुरुदेखि नै राजनीतिक संवादलाई प्राथमिकता दिइएको बताए। सरकारको सहयोगमा विद्रोही पक्ष, पुराना राजनीतिक समूह तथा नवोदित राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याएर संवाद र सहकार्यको वातावरण निर्माण गर्न सफल भएको उनको भनाइ थियो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आन्दोलनका कारण प्रभावित भएको अनुशासन पुनःस्थापित गर्न निर्वाचन नै उपयुक्त माध्यम भएकाले आयोगले चुनौतीका बीच अहोरात्र खटिएर निर्वाचन सम्पन्न गराएको बताए। उनले निर्वाचन मितव्ययी तथा तुलनात्मक रूपमा व्यवस्थित ढंगले सम्पन्न भएको पनि उल्लेख गरे।
समीक्षा कार्यशालाबाट प्राप्त सुझावका आधारमा आगामी निर्वाचनहरूमा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने, मतदानस्थल तथा मतदान केन्द्रलाई अझ पहुँचयोग्य बनाउने, सदर मतको प्रतिशत वृद्धि गर्ने, आवश्यक कानुनी सुधार अघि बढाउने तथा आयोगको भौतिक पूर्वाधार सुदृढ गर्ने योजना रहेको उनले जानकारी दिए।
कार्यक्रमको उद्घाटन तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गरेकी थिइन्। सो अवसरमा निर्वाचन परिणामसम्बन्धी पुस्तकको विधुतीय संस्करण सार्वजनिक गरिएको थियो।




प्रतिक्रिया