काठमाण्डु – एसियन खेलकुद छनोटअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा ओमानले नेपाललाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ।
सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो। टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको हो।
ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए । यस्तै, नेपालका तर्फबाट करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा शहाब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।
नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेलमा चीनलाई २२१ रनले तथा दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।
नेपाल र ओमानबीच अहिलेसम्म नौ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । तीमध्ये नेपालले ६ खेल जितेको छ भने २ खेलमा पराजित भएको छ । एक खेल भने नतिजाविहीन भएको थियो ।
आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । अर्को सेमिफाइनल खेलमा मलेसिया र हङकङले खेल्नेछन् ।




प्रतिक्रिया