नयाँ सरकारप्रति भारतमा उत्साह रहेछ, केही महिनामा दुवै देशबाट उच्चस्तरीय भ्रमण हुन्छ : परराष्ट्रमन्त्री

नयाँ सरकारप्रति भारतमा उत्साह रहेछ, केही महिनामा दुवै देशबाट उच्चस्तरीय भ्रमण हुन्छ : परराष्ट्रमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कीएका छन् । भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी शुक्रबार नयाँदिल्ली गएका थिए ।

विमानस्थलमा पत्रकार सँग कुराकानी गर्दै खनालले भारतमा नयाँ सरकारप्रति एक किसिमको उत्साह रहेको बताए । उनले भने ‘नयाँ सरकारप्रति एक किसिमको उत्साह छ । स्थिर सरकार नेपालले पाएको छ, त्यो स्थिर सरकारमार्फत नेपाल भारतबीच रहेका विभिन्न सहयोगका परियोजना लगायतका विषयमा ढुक्क भएर काम गर्न सकिन्छ ।चाँडो चाँडो सरकार परिवर्तन हुँदैगर्दा सुरु गरिएका परियोजना, संवाद टुंगोमा पुग्न अप्ठेरो हुने, र अहिलेको स्थिर सरकारले कन्फिडेन्स दिएको मैले पाएँ,’ उनले भने ।

मन्त्री खनालले अबका केही महिनामा दुवै देशका तर्फबाट उच्चस्तरीय भ्रमण हुनसक्ने सम्भावना रहेको बताए । खनालले भने, ‘दुई देशबीच औपचारिक उच्चस्तरीय भ्रमणहरू नभएको झण्डै दुई वर्ष भइसकेको थियो । मेरो भ्रमणमार्फत उच्चस्तरीय औपचारिक भ्रमणको सुरुवात भएको छ । अबका केही महिनाहरूमा यताबाट पनि उताबाट पनि उच्चस्तरीय भ्रमणहरूको अपेक्षा राख्न सक्छौँ ।’

भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।