काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले सीमा सम्बन्धी विषयहरूलाई तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहल तथा ‘टेबल टक’ मार्फत टुङ्गोमा पुर्याइने बताएका छन् ।
भारतको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले सीमा विवाद सुल्झाउन राष्ट्रिय अभिलेखालयमा रहेका दस्तावेजहरूको अध्ययन भइरहेको बताएका हुन् ।
उनले भने ‘राष्ट्रिय अभिलेखालयमा भएका डकुमेन्टहरू अध्ययन गर्दैछौँ। केही विषय हामीसँग छन्, केही विषयको ओरिजनल प्रमाणित कपीहरू नभएको जस्तो पनि देखिन्छ नेपालमा। विभिन्न कालखण्डमा सिंहदरबारमा कुनै समयमा आगो लागेको कारणले हुन सक्छ। कतिपय आधिकारिक दस्ताबेजहरू, हामीसँग नभएका दस्ताबेजहरू वा भएका दस्ताबेजहरूलाई थप सपोर्ट गर्ने डकुमेन्टहरू, ‘तत्कालीन अवस्थामा १८१६ मा सुगौली सन्धी हुँदै गर्दा त्यतिबेलाको बेलायती कम्पनी, उनीहरूले अध्ययन गरेका लेखेका, कहिलेकहिले व्यक्तिगत नोटबुकहरू पनि हिस्टोरिकल इभिडेन्सको रूपमा प्रयोग गर्न सकिन्छ। त्यस्ता विषयहरू हाम्रो बुझाइमा बेलायतका संग्रहालय, लाइब्रेरी, नेसनल आर्काइभहरूमा छन्।’
मन्त्री खनालले आवश्यक परे बेलायत सरकारसँगको मित्रवत् सम्बन्धका माध्यमबाट ती दस्ताबेजहरूमा पहुँच स्थापित गर्न छलफल र सहकार्य अघि बढाइने बताए ।




प्रतिक्रिया