काठमाण्डु – अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाण्डु)को सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो।
उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्याउन लागिएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता सुरु भएको छ।
पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल वीरगन्ज, र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनबाट निजामती कर्मचारीले निजामती अस्पताल काठमाण्डुबाट पाउने छुट तथा सहुलियत सहित स्वास्थ्य सेवा पाउने छन्।
आइतबार मन्त्रालयले दुई अस्पतालसँग सम्झौता गरेसँगै सोमबारबाटै सेवा सुरु हुने छ।
सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा हुनु पर्ने छ। मधेस र बागमती बाहेक अन्य प्रदेशमा समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भई सेवा प्रदायक अस्पतालहरूको सूचीकरण समेत भइसकेको छ।
आवश्यक तयारी चलिरहेकाले केही दिनमै सबै प्रदेशबाट निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको छुट, सहुलियत सहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
आवश्यक तयारी चलिरहेकाले कही दिनमै सबै प्रदेशबाट निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको छुट, सहुलियतसहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया