काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले इरानसँग गर्ने कुनै पनि सम्भावित सम्झौता स्वीकार गर्नुपर्ने बताएका छन् ।
इरानले युद्धविरामपछि पहिलोपटक इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको केही घण्टामै ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।
फाइनान्सियल टाइम्ससँगको टेलिफोन अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानसँगको अमेरिकी नीति अन्तिम रूपमा वासिङ्टनले निर्धारण गर्ने स्पष्ट संकेत दिँदै नेतान्याहुसँग ‘अमेरिकाले गरेको सम्झौता स्वीकार गर्नुबाहेक अर्को विकल्प नरहने’ बताए । उनले इजरायलको निर्णय प्रक्रियामा निर्णायक भूमिका अमेरिकाकै रहने दाबी पनि गरे ।
इरानसँगको वार्तामा कुनै पनि प्रगति भए पनि त्यसमा हालको आक्रमणले असर नपार्ने ट्रम्पले स्पष्ट पारे। उनका अनुसार कूटनीतिक संवाद जारी रहनेछ र तनावका बीच पनि सम्झौताका ढोका खुला रहनेछन् ।
यसअघि इरानले सोमबार इजरायलतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यसलाई अप्रिलको युद्धविरामपछि पहिलो प्रत्यक्ष आक्रमण मानिएको छ । यस घटनालाई युद्धविराम उल्लंघनको सबैभन्दा गम्भीर घटना मानिएको छ ।
इजरायली रक्षा बल (आइडीएफ) ले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र पहिचान गरिएको र ती रोक्न प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ । देशका विभिन्न भागमा साइरन बजाइएको र सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो ।
हमलापछि इरानले राजधानी तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल वरपरको हवाई क्षेत्र बन्द गरेको छ। त्यस्तै, इराकले ७२ घण्टा र सिरियाले १२ घण्टाका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय लिएका छन्।




प्रतिक्रिया