काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षीहरुले सरकारको प्रारम्भिक लक्षण ठीक नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सिंहदरबारमा सोमबार भएको सर्वदलीय बैठकमा विपक्षी काँग्रेस, एमाले, नेकपा र राप्रपाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीको विरोध गरे ।
बालेनमा अपरिपक्वता देखिएको आरोप विपक्षीले लगाए । नेपालले भारतको जमिन मिचेको भन्दै बालेनको दिएको अभिव्यक्तिबारे उनीहरुले सभापति लामिछानेको धारणा माग गरे ।
संसदमा अंकगणितीय आधारमा विपक्षी दलको अवस्था कमजोर रहेको र विकल्प नरहेको मनोविज्ञानसहित सरकार शक्तिपृथकीकरणको सिद्धान्त तथा नियन्त्रण र सन्तुलनको व्यवस्तथालाई भत्काउने दिशामा अघि बढेको विपक्षको भनाइ थियो ।
‘संसदमा अहिले प्रतिपक्ष गणितका हिसाबले कमजोर छ र विकल्प छैन । त्यसकारण हामी विकल्पहीन छौं भनेर शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने खालको कामहरु नहोस्’, बैठकको बीचैमा बाहिर निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सञ्चारकर्मीसँग भने, ‘प्रारम्भिक लक्षणहरु ठीक देखिएको छैन ।’
यस्तै वैदेशिक सम्बन्धको सवालमा अपरिपक्क व्यवहारहरु नदेखाउन पनि विपक्षीले ध्यानाकर्षण गराए । ‘देश जित्नेको मात्र होइन, हार्नेको पनि हो, र यो सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देश हुनुपर्छ । त्यसकारण अलिकति परिपक्व व्यवहारहरु गरियोस्’, उनले भने, ‘चाहे प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको अभिव्यीक्त होस् अथवा रास्वपाका सभापतिले भारत भ्रमणमा गएर हामीले विगतको भारी बोक्दैनौं भन्नुभएको कुराहरु होस् । यसले धेरै अर्थ राख्छ ।’
विगतका भारी बोक्दैनौं भन्नुको अर्थ विगतमा सबै नराम्रा भएका थिए ? भन्दै आफूहरुले प्रश्न गरेकाले उनले बताए ।
नेपाल–भारत सम्बन्धमा विगतमा नराम्रा मात्रै भएका थिए भन्ने भए लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी भएको नयाँ नक्सा पनि गलत हो ? भन्ने प्रश्न बैठकमा गरिएको उल्लेख गरे ।
‘ऐतिहासिक तथ्य/प्रमाणहरुका आधारमा सर्वसम्मतिले संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको विषयमा अहिले हामी भारी बोक्दैनौं भन्ने अर्थ लान सक्छ । त्यो पनि नयाँ ढंगले छलफलमा जान सकिन्छ भन्न खोजेको पनि अर्थ लाग्न सक्छ’, उनले भने, ‘त्यसकारण वैदेशिक सम्बन्धकोे सवालमा संवेदनशीलता अपनाइयोस् ।’




प्रतिक्रिया