काठमाण्डु– विपक्षी दलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भारतमा पाएको उच्चस्तरीय सम्मानका लागि बधाई दिएका छन् ।
हालै सम्पन्न आफ्नो भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न लामिछानेले सोमबार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका नेताहरुको सर्वदलीय बैठक बोलाएका थिए ।
सिंहदरबारस्थित संसदको सार्वजनिक लेखा समितिको सभा हलमा बसेको बैठकमा काँग्रेस, एमाले, नेकपा र राप्रपाका नेताहरुले लामिछानेले भारतमा पाएको सम्मानको प्रशंसा गरे ।
विपक्षीले उक्त सम्मानलाई अवसरका रुपमा सदुपयोग गर्न लामिछानेलाई आग्रह गरे । ‘भारत भ्रमणका क्रममा सत्तारुढ दलको सभापतिका हैसियतमा रविजीले जुन उच्चस्तरको अभूतपूर्व सम्मान पाउनुभएको छ । त्यसलाई अवसरको रुपमा सदुपयोग गर्न सुझाव दिएका छौं’, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने ।
लामिछानेले गत १८ देखि २२ जेठसम्म पाँच दिने भारत भ्रमण गरेका थिए ।
नयाँदिल्लीमा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस। जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
उनलाई नयाँदिल्लीस्थित पण्डित दीनदयाल उपाध्यायमार्गमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) को कार्यालयमा जाँदा पुष्पवृष्टिद्वारा सम्मान गरिएको थियो ।
पार्टी प्रमुखका रुपमा यसअघि नेपालका कुनै पनि नेतालाई भारतले नदिएको सम्मान लामिछानेलाई दिएको चर्चा नेपाल र भारतीय राजनीतिक वृत्तमा छ ।




प्रतिक्रिया