काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिले हालै भारतको भ्रमण गरेका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणमा लामिछानेले सोमदेखि भारतको पाँच दिने भ्रमण गरेका थिए ।
सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा पनि भ्रमणमा थिए ।
भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरूका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसहित सरकारी अधिकारीसँग पनि भेटघाट गरेका थिए ।
भ्रमणको दोस्रो दिन मंगलबार लामिछानेले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए । लामिछाने–शाह भेटवार्तामा नेपाल–भारत द्विपक्षीय हित र सम्बन्धबारे छलफल भएको थियो ।
गृहमन्त्री शाहसँग लामिछानेको भेट उनको अन्य नेताहरूसँग भएको भेटभन्दा असामान्य थियो ।
शाहले पार्टी अध्यक्ष रहँदा केही राजदूतहरूसँग व्यक्तिगत भेटघाट गरे पनि सामान्यतया विदेशी प्रतिनिधिमण्डलसँग भेट गर्दैनन् । तर नेपालको सन्दर्भमा भने भाजपा दुई देशबीचको ‘साझा सभ्यतागत विरासत’ र ‘जनस्तरको गहिरो सम्बन्ध’लाई पुनर्जीवित र सुदृढ बनाउन इच्छुक देखियो । अन्ततः शाहले लामिछानेसँग भेट गरे ।
लामिछानेसँगको भेटपछि शाहले सामाजिक सञ्जाल एक्समा लेख्दै नेपाल र भारतबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै पक्ष प्रतिबद्ध रहेको बताएका थिए ।
भाजपाका एक वरिष्ठ नेताका अनुसार पार्टी केवल कूटनीतिक सम्बन्धमा सीमित छैन, नेपाल र भारतबीचको साझा सांस्कृतिक तथा सभ्यतागत इतिहासलाई पनि सम्बन्धको प्रमुख आधार बनाउन चाहन्छ ।
भेटघाटमा सहभागी भाजपा नेता प्रवीण खण्डेवालका अनुसार दुई देशबीचको मित्रतालाई बलियो बनाउने विषयमा शाहले लामिछानेसँगको भेटमा विशेष जोड दिएका थिए । उनले नेपालको पशुपतिनाथ मन्दिर र भारतका वाराणसीबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र ऐतिहासिक आधारमा जोडिएको उल्लेख गरेका थिए ।
भारत भ्रमणको पूर्वसन्ध्यामा लामिछानेले भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा लेखेका थिए,‘ ‘नेपाल र भारत केवल दुई देश मात्र होइनन्, हामी गौरवशाली र प्राचीन सभ्यताका साझेदार हौँ । जनकपुर र अयोध्या नजोडिएसम्म रामको कथा पूर्ण हुँदैन ।
पशुपतिनाथ र केदारनाथ नजोडिएसम्म आस्थाले पूर्णता पाउँदैन । लुम्बिनी र बोधगया जोडिएपछि मात्र महान् सभ्यताको आधारभूमि साकार हुन्छ ।’
भाजपा लामो समयदेखि नेपाल–भारतबीचको साझा सभ्यतागत सम्बन्धप्रति सचेत रहँदै आएको छ । सन् २०२३ को अन्त्यतिर जनकपुरधाको जानकी मन्दिरका महन्तलाई भारतको अयोध्यास्थित राम मन्दिरको प्राणप्रतिष्ठा समारोहमा निमन्त्रणा गरिएको थियो ।
लिट्टी-चोखाको स्वाद
रास्वपाको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयको भ्रमण गर्नुका साथै नेतृ रेखा गुप्ताको निवासमा दिवाभोजमा सहभागी भएको थियो । उक्त भोजमा भाजपाका अन्य नेताहरू मनोज तिवारी, बन्सुरी स्वराज, हर्ष मलहोत्रा, रामवीर सिंह लगायतको उपस्थिति थियो ।
सोही राति दिल्लीका मन्त्री आशिष सूदको निवासमा रात्रिभोजको आयोजना गरिएको थियो, जहाँ राजनीतिक व्यक्तित्वसँगै शिक्षाविद्हरू पनि सहभागी थिए ।
भाजपाका एक पदाधिकारीका अनुसार नेतृ गुप्ताको निवासमा नेपाली प्रतिनिधिमण्डललाई बिहारको लोकप्रिय परिकार ‘लिट्टी–चोखा’सहित विभिन्न बिहारी भोजन खुवाइएको थियो ।
गृहमन्त्री शाहको आग्रहमा नेपाली प्रतिनिधिमण्डलका लागि ‘लिट्टी-चोखा’को विषेश व्यवस्था गरिएको थियो । भाजपाका एक नेताले भने, ‘उहाँहरूले ‘लिट्टी-चोखा’सहित अन्य परिकार निकै मन पराउनुभयो । सामान्यतया हल्का खाना खाने बानी भए पनि स्वादिष्ट भएकाले अपेक्षाभन्दा बढी खानुभयो ।’




प्रतिक्रिया