क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद जेठ २८ सम्म, महाधिवेशन पूर्णत: डिजिटल हुने

क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद जेठ २८ सम्म, महाधिवेशन पूर्णत: डिजिटल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेसम्मको समयसीमालाई अन्तिम म्याद कायम गर्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ ।

महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षता तथा सभापति गगनकुमार थापाको उपस्थितिमा सोमबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले आगामी १५औँ महाधिवेशनलाई पूर्णत: प्रविधिमैत्री र डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको हो ।

बैठकले दिएको जानकारीअनुसार अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये हालसम्म ४ लाख १७ हजार ७५३ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने ९८ हजार १४३ जनाले स्वयं अद्यावधिक फारम पेश गरी प्रक्रिया अगाडि बढाएका छन् ।

समितिले डिजिटल प्रणालीमार्फत प्रत्येक सदस्यलाई विशिष्ट परिचय नम्बर प्रदान गरिने र महाधिवेशनमा सहभागी हुन यही परिचय नम्बर प्रमुख आधार हुने जनाएको छ । त्यसैले सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न अनुरोध गरिएको छ ।

अद्यावधिक प्रक्रियामा कुनै प्राविधिक समस्या आएमा पार्टीको आधिकारिक वेबसाइटमा उपलब्ध सम्पर्क नम्बर ९७०१२५५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ । योग्य सदस्यको अद्यावधिक प्रक्रियामा कुनै तहबाट अवरोध भएमा केन्द्रीय कार्यालयमा सिधै सम्पर्क गरी प्रक्रिया पूरा गर्न सकिने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

बैठकले अनुशासन समितिबाट कारबाहीमा परेका, पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका, आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक र प्रचारक बनेका व्यक्तिहरूको सदस्यता प्राप्त प्रमाणका आधारमा केन्द्रीय अभिलेखबाट हटाइने निर्णय पनि गरेको छ ।

कसैले अनधिकृत रूपमा अरू व्यक्तिको सदस्यता अद्यावधिक गरेको प्रमाण प्राप्त भएमा त्यस्तो एनसीआईडी रद्द गरिने जनाइएको छ ।

केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्र, पालिका तथा वडा तहका पदाधिकारी एवं सदस्यहरू, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, संघीय संसद् सदस्य, मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई जेठ २७ गतेभित्र आफ्ना क्रियाशील सदस्यता अद्यावधिक गरी पार्टीका सबै तहलाई सक्रिय बनाउँदै अद्यावधिक प्रक्रियामा सहजीकरण गर्न निर्देशन दिइएको छ ।

हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा इन्टरनेट तथा प्राविधिक समस्याका कारण अनलाइन अद्यावधिक प्रक्रिया प्रभावित भएमा सम्बन्धित जिल्लाको सिफारिसका आधारमा सदस्यता अद्यावधिक गरिने व्यवस्था यथावत् रहने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा पनि पार्टी विधानले तोकेको योग्यता र प्रक्रियाअनुसार योग्य नेपाली नागरिकलाई निर्वाध रूपमा सदस्यता उपलब्ध गराउन निर्देशन दिएको छ । नयाँ सदस्यताका लागि प्राप्त अनलाइन आवेदनहरू वडा तहदेखि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिसम्मको सिफारिस र स्वीकृति प्रक्रियाबाट टुङ्गो लगाइने जनाइएको छ ।

कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा पार्टीका सबै तहलाई सदस्यता व्यवस्थापनसम्बन्धी कार्य प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरिएको छ ।