एक सय ८० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो ।

आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विधुतगृह निर्माणस्थलबाट गरि चार ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिए। पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण हुनेछ उनले बताए विधुतगृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका ४ घाँसामाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ घरापमा विधुतगृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहले बताए।

रन अफ द रिभर प्रकृतिको यस आयोजनाको एक किलोमिटर पेनस्टक पाइपलाइन रहनेछ । विधुतगृह देखि ‘आउटलेटको उचाइ ४८० मिटर रहेको छ । प्रर्वद्धक कम्पनी, ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन तयार हुने अन्तिम चरणमा पुगेको छ ।

आठ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजना स्थलमा पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भएको छ । घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराइने भएको छ ।

४० अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमी बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए ।

प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर लगानीको व्यवस्था मिलाइएको उनले बताए । अन्नपूर्ण गाउँपालिका ४ का वडाध्यक्ष लोकबहादुर फगामीलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवद्र्धक कम्पनी, निर्माण कम्पनी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गरेर आयोजना निर्माणको शुभारम्भ गरिएको थियो ।

वडाध्यक्ष फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लाको हालसम्मकै ठूलो जलविधुत आयोजना भएको बताए । उनका अनुसार नारच्याङ भएर बग्ने नदीहरूमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविधुत आयोजना निर्माण भएका छन् ।

पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि १ ७१ मेगावाट क्षमताको नीलगिरि २ र छ मेगावाट क्षमताको रेलेखोला जलविधुत आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।

नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६.तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविधुत आयोजना निर्माणाधीन छ । नौ.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविधुत आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ ।