काठमाण्डु – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि अमेरिकाका कार्यबाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबिच भएको भेटवार्तामा नेपाल र अमेरिकाबिचको सम्बन्ध तथा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा हुँदै आएको सहकार्यका विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
मन्त्री मेहताले भेटवार्ताका क्रममा सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै सोहीअनुरूप सहकार्यलाई प्राथमितकता दिनुपर्नेमा जोड दिए ।
सो अवसरमा कार्यबाहक अर्बमले अमेरिकी सरकारले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । भेटघाटका क्रममा अमेरिकी सरकारबाट नेपालमा सहयोग हुँदै आएका एचआईभी/एड्सको नियन्त्रण तथा रोकथाम, स्वास्थ्य डिजिटलाइजेसन, टेलिमेडिसिन, ग्लोबल हेल्थ सेक्युरिटी तथा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणलगायत विषयमा छलफल भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।




प्रतिक्रिया