काठमाण्डु – इरानको इस्लामिक सेना रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइनस्थित अमेरिकी नौसेनाको फिफ्थ फ्लिटमा ड्रोन हमला गरेको छ ।
इरानी सरकारी मिडियाका अनुसार दक्षिण इरानको केशम र बन्दर अब्बासमा भएको अमेरिकी हमलाको जवाफमा यो हमला भएको हो ।
स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको इरानको दाबी छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ ।
आईआरजीसीले अमेरिकाले जास्क, सिरिक र केशम द्विपमा हमला गरेको समेत जनाएको छ । अमेरिकी हमलामा सिरिकमा एक सञ्चार टावरमा क्षति पुगेको छ भने दुईवटा पानीका ट्यांकीसमेत क्षतिग्रस्त बनेका छन् ।
इरानले अमेरिकी सैन्य कारबाही जारी रहेमा जवाफ पनि जारी रहने र थप कडा कारबाही गर्ने चेतावनी दिएको छ । आईआरजीसीका अनुसार दुवैपक्षबीच टकराब अझै समाप्त भएको छैन ।
इरानले हमला गरेको बताए पनि अमेरिकी सेनाले बहराइनस्थित फिफ्थ फ्लिटमा हमला गरेको पुष्टि गरेको छैन । बहराइनमा तैनाथ अमेरिकी फिफ्थ फ्लिट पश्चिम एसियामा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण नौसैनिक अड्डा मानिन्छ । यसले फारसको खाडी, अरब सागर र स्ट्रेट अफ होर्मुजजस्ता रणनीतिक समुद्री इलाकाको निगरानी गर्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका छन् । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने खतरा बढेको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार आक्रमण राजधानी तेहरान वा अन्य प्रमुख सहरमा नभई केशम टापुमा केन्द्रित थियो। हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
अमेरिकी सेनाका अनुसार सोमबार ओमानको तट नजिक दुर्घटनाग्रस्त भएको अपाचे हेलिकोप्टरका दुई चालक दलका सदस्यलाई मंगलबार बिहानै उद्धार गरिएको थियो ।
यता होर्मुज जलडमरूमध्य नजिक अमेरिकी हेलिकोप्टर खसालेपछि भएको अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत चेतावनी दिएका छन् ।
उनले भनेका छन् ‘यदि सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्रबाट बाहिरिनुहोस् । हाम्रो क्षेत्र वरिपरि रहेका विदेशी सेनाहरू सधैं जोखिममा हुन्छन् । हामी कूटनीतिलाई प्राथमिकता दिन्छौं, तर आवश्यक परे अन्य भाषामा पनि जवाफ दिन जान्दछौं ।’




प्रतिक्रिया