काठमाण्डु – प्रतिनिधि सभाको बैठक बस्न नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गतिरोध अन्त्य गर्न सक्रिय भएका छन् ।
यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
सभामुख डोलप्रसाद अर्याल र रास्वपा सभापति लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गर्दै आएका छन्।
विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।
प्रतिनिधि सभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए।
सिंहदरबारस्थित संसद् भवनमा लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीसहितका नेताहरूसँग छलफल गरिरहेका हुन् ।
विपक्षी दलहरूको सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बैठक बसिरहेका बेलामा लामिछानेले छलफलका लागि बोलाएका थिए ।




प्रतिक्रिया