काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारीले विराटनगर महानगरपालिका–१२ स्थित केसलिया नदी किनारमा रहेको एकीकृत सम्पन्न बस्ती व्यवस्थापनको नाममा ठगी भएको भन्दै आपत्ति जनाएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले उक्त बस्ती सुकुमबासीका लागि आवास नभई ऋणको पासो सावित भएको बताइन् ।
उक्त प्रकरणबारे तत्काल छानबिन गरी विपन्नको थाप्लोबाट ऋणको बोझ हटाउन र संविधानप्रदत्त मर्यादित आवासको हक व्यवहारमै प्रत्याभूत गराउन माग गरिन् ।
‘विराटनगर वडा नम्बर १२ मा केसलिया नदीको किनारमा बनेको ‘एकीकृत सम्पन्न बस्ती’ नाम मात्रको सम्पन्न, तर यो वस्ती विपन्नताको चरम नमुना बनेको छ । महानगर, ह्याबिट्याट नेपाल र जीवन विकास लघुवित्तको त्रिपक्षीय साझेदारीमा बनेको यो बस्ती सुकुम्बासीका लागि आवासु होइन, ऋणको पासो सावित भएको छ’, अधिकारीले भनिन्, ‘दैनिक छाक टार्न धौ–धौ पर्ने सुकुम्बासीलाई मासिक ७ हजार रुपैयाँ किस्ता तिर्ने गरी ऋणको भार थोपरिएको छ । सभामुख महोदय, यो व्यवस्थापन हो कि, नीतिगत ठगी ?’, उनले भनिन्, ‘न बाटो छ, न ढल, न खानेपानी छ, न त बिजुली नै छ । बिना सुरक्षा तटबन्ध नदी किनारको खोँचमा बनाइएको १०० घरधुरीको यो बस्ती सामान्य झरीमै जलमग्न हुन्छ । राजनीतिक जस लिन तीन वर्षदेखि पूर्वाधार बिना नै मान्छेलाई त्यहाँ कोचिएको छ । सभामुखमार्फत सरकारसँग जोडदार माग गर्दछु । तत्काल यसको छानबिन गरियोस्, विपन्नको थाप्लोबाट ऋणको बोझ हटाइयोस् र संविधानप्रदत्त मर्यादित आवासको हक व्यवहारमै प्रत्याभूत गरियोस् ।’




प्रतिक्रिया