सुरुङ्गा झापा- जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत झापाको फैसला कार्यान्वयन गर्न चलाइएको अभियानमा २४ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका २० जनाको फैसला कार्यान्वयन भएमा पाँच वर्ष तीन महिना छ दिन कैद सजाय र छ लाखभन्दा बढी जरिवाना असुलउपर हुनेछ ।
अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानमा पक्राउ परेकालाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक चौहानका अनुसार पछिल्ला दुई दिनमा जिल्लाका विभिन्न स्थानबाट फैसला कार्यान्वयनतर्फ २० जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, शिवगञ्ज, विर्तामोड, बैगुनधुरा तथा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीलाई घर तथा लुकिछिपी बसेका स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकामध्ये अधिकांश लागुऔषध मुद्दासँग सम्बन्धित छन् । विभिन्न समयमा अदालतबाट जरिवाना तथा कैद सजाय तोकिएका उनीहरु लामो समयदेखि फरार थिए । लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये अधिकांशलाई दुई हजारदेखि दुई हजार ५०० सम्म जरिवाना र केहीलाई कैद सजायसमेत तोकिएको छ ।
पक्राउ पर्नेहरूमा विजयकुमार भट्टराई, रणबहादुर विक, गणेश दुलाल, बादल राई, गोपाल रिजाल, सौजन्य किसान, सावित विक, राजकुमार महतो, माइकल भन्ने ईश्वर गुरुङ, फिरोज भन्ने अजय लिम्बू, जय भन्ने प्रवेश लावती, महेश रैवा र पूतमकुमारलगायत छन् ।
मिलन घिमाललाई लागुऔषध मुद्दामा दुई वर्ष चार महिना ११ दिन कैद र २० हजार जरिवाना तोकिएको थियो । बैंकिङ कसुर, चेक अनादर, नागरिकता किर्ते, चोरी तथा बहुविवाहका मुद्दामा सजाय तोकिएर फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर तथा चेक अनादर मुद्दाका फरार प्रतिवादी लिलाराज कँडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कँडेल विरुद्ध बैंकिङ कसुरमा १० दिन कैद र तीन लाख ५० हजार जरिवाना तथा चेक अनादर मुद्दामा दुई हजार ५०० जरिवानाको फैसला भएको थियो ।
नागरिकता किर्ते मुद्दाका प्रतिवादी होमबहादुर मगरलाई एक महिना पाँच दिन कैद र २० हजार जरिवाना तोकिएको थियो । चोरी मुद्दाका प्रतिवादी प्रदीप दङ्गडलाई ५०० रुपैयाँ जरिवानाको फैसला भएको थियो भने बैंकिङ कसुरकै अर्को मुद्दाका प्रतिवादी रोमादेवी गिरीलाई दुई दिन कैद र दुई लाख २० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
बहुविवाह मुद्दाका जीवन इङ्दङ्गो र सविता श्रेष्ठलाई जनही एक-एक वर्ष कैद तथा पाँच-पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा संलग्न रहेका जमुना देवी इङ्नाम, मञ्जु राजवंशी, नारदप्रसाद अधिकारी र अविरलाल राजवंशीलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका अघि बढाइएको छ ।
फैसला कार्यान्वयनमा जोड
अदालतबाट भएको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउनु कानुनी शासनको महत्वपूर्ण पक्ष भएकाले सजाय तोकिएपछि पनि फरार रहने प्रवृत्तिले न्याय सम्पादन प्रक्रियामाथि प्रश्न उठ्ने हुँदा फरार अभियुक्त पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको उपरीक्षक वशुन्धरा खड्काले बताए ।




प्रतिक्रिया