काठमाण्डु– एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।
शुक्रबार संसद् बैठकमा आकस्मिक समयमा बोल्दै एमाले सांसद गुरु बरालले वाग्लेले बजेटमा छेडखानी गरेकाले संसदीय छानबिन हुनुपर्ने बताए ।
अर्थमन्त्रीले बजेटको दरमा छेडखानी गरेर राजश्व तलमाथि गर्ने काम गरेकाले उनी त्यसबाट उम्किन नपाउने बरालको भनाइ थियो ।
‘अर्थमन्त्रीले बजेटको दर रेटमा छेडखानी गरेर राजस्वलाई तलमाथि गर्नुभएको छ’ बरालले भने, ‘यो चीजबाट उहाँ उम्किन पाउनुहुन्न ।’
अर्थमन्त्री वाग्लेले १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक विधेयकमा त्रुटी भएको भन्दै अर्थ मन्त्रालयको वेबसाइटमा पटकपटक परिर्वतन गरिएको विधेयक अपलोड गरेको थियो ।
सार्वजनिक विरोध भएपछि अर्थमन्त्रीले १७ जेठमा त्रुटि सच्याउन संसद् सचिवालयमा पेश गरेका थिए ।
बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्लेले आफूले ७ विषयमा करका दर हेरफेर गरेको स्वीकार गरेका थिए ।
विपक्षी दलहरुले आर्थिक विधेयकमा हेरफेर गर्ने अधिकार मन्त्रिपरिषदलाई मात्र हुने भन्दै अर्थमन्त्रीको व्यक्तिगत तजबिजीले गरिएको हेरफेरबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।




प्रतिक्रिया