काठमाण्डु– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनको उदघाटन शत्रलाई शुक्रबार सम्बोधन गर्दै उनले वास्तविक लगानीकर्तालाई सदैव अवसर प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले लगानीको वातावरण बनाउन सरकार तत्पर रहेकाले निर्धक्क भएर लगानी गर्न अपिल गरे । यद्यपि विद्युत आयोजनाको लाइसेन्स ओगटेर आयोजना निर्माण नगर्ने प्रवृत्तिप्रति भने कठोर नीति लिइने चेतावनी दिए ।
जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको लगानी संरक्षण र ऊर्जा बजार विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
श्रेष्ठले जलविद्युत् क्षेत्रमा स्थिर ब्याजदरमा कर्जा प्रवाहको व्यवस्था गरिने र स्वच्छ ऊर्जासँगै एआई तथा डिजिटल सेवाजस्ता नयाँ सम्भावनाको खोजी गरिने उल्लेख गरे । ग्रीन हाइड्रोजन प्लान्टका पाइलट आयोजनाबाट भविष्यको स्वच्छ ऊर्जा अर्थतन्त्रको आधार तयार हुने दाबी गरे ।
जलविद्युत् आयोजना निर्माण तथा हस्तान्तरणका क्रममा देखिएका जग्गा भोगाधिकार र रुख कटानसम्बन्धी समस्या समाधानका लागि कानुनी सुधार गरिएको बताए । उत्पादनसँगै खपत र निर्यात रणनीतिमा पनि सरकारले विशेष दिएको मन्त्री श्रेष्ठले बताए ।




प्रतिक्रिया