उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी बहन गर्नुपर्छ : आईजीपी कार्की

उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी बहन गर्नुपर्छ : आईजीपी कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।

हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिई जान लागेका प्रहरी निरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले निर्देशन दिए ।

आईजीपी कार्कीले आ–आफ्नो क्षेत्रमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही बहन गर्न निर्देशन दिए । सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवम् परिचालन गर्नुपर्ने उनले बताए ।

आईजीपी कार्कीले व्यक्तिगत स्वार्थभन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै संगठनको साख वृद्धि हुने गरी कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । सम्पूर्ण प्रहरी कर्मचारीहरूले पारदर्शी, काननुनसम्मत र विभेदरहित ढंगले आ–आफ्नो जिम्मेवारी बहन गर्दै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कटिबद्ध हुन समेत उनले निर्देशन दिए ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायव महानिरीक्षक अरूण पौडेल र अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा एवम् समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।