माइतीघरमा चिकित्सकहरूको प्रदर्शन (तस्बिरहरू)

माइतीघरमा चिकित्सकहरूको प्रदर्शन (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूले काठमाण्डुको माइतीघरमा प्रदर्शन गरेका छन्।

प्रशिक्षार्थी तथा युवा चिकित्सकहरूले श्रम अधिकार, पारिश्रमिक, बिदा, मानसिक स्वास्थ्य तथा चिकित्सा शिक्षा सम्बन्धी विभिन्न विषय समेटिएका ७ बुँदे माग राख्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरूले चिकित्सकहरूले प्रशिक्षार्थी चिकित्सकहरू लामो समयसम्म काम गर्न बाध्य भएको, श्रम ऐनअनुसारको सेवा–सुविधा नपाएको तथा अध्ययन र प्रशिक्षणका क्रममा विभिन्न प्रकारका समस्या भोग्नुपरेको बताएका छन्।

चिकित्सकहरूको श्रम शोषण अन्त्य गर्दै सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरेका छन्।

बजेटमार्फत बढाइएको तलब कार्यान्वयन गर्दै आवासीय चिकित्सकलाई अधिकृत आठौँ तह सरहको तलब साउन महिनादेखि उपलब्ध गराउनुपर्ने तथा सातामा ४८ घण्टाभन्दा बढी काम गराए श्रम ऐनअनुसार अतिरिक्त समयको भत्ता दिनुपर्नेलगायतको माग राखेका छन्।

चिकित्सकहरूले श्रम अधिकार, तलब-सुविधा, अध्ययन व्यवस्था तथा कार्यस्थलको वातावरण सुधार गर्न माग गरेका छन् । हाल प्रशिक्षार्थी चिकित्सकमाथि अत्यधिक कार्यबोझ र श्रम शोषण भइरहेको आरोप लगाउँदै श्रम ऐनअनुसार कार्यसमय निर्धारण गर्न उनीहरूले माग गरेका छन् ।

उनीहरूले इन्टर्न तथा आवासीय चिकित्सकको ड्युटी समय प्रतिदिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा सातामा कम्तीमा एक दिन अनिवार्य बिदाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

यस्तो छ मागहरू :

१. प्रशिक्षार्थी चिकित्सक (ईन्टर्न तथा आवशीय चिकित्सक)को ड्युटी समय नेपालको श्रम ऐन २०७४ ले तोके बमोजिम प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टाभन्दा बढी हुन नहुने । साथै सातामा एक दिन अनिवार्य विदाको व्यवस्था हुनपर्ने ।

२. सम्पूर्ण प्रशिक्षार्थी महिला चिकित्सकलाई कानुन बमोजिम उपलब्ध हुने तलबसहितको सुत्केरी बिदा उपलब्ध गराईनु पर्ने । उक्त बिदाको अवधिको अध्ययन र प्रशिक्षण सुत्केरी अवस्थापछि बिना कुनै रोकतोक गर्न पाईनुपर्ने । साथै सम्पूर्ण महिला स्वास्थ्यकर्मी (करार तथा स्थायी)लाई समेत स्थायी कर्मचारीलाई उपलब्ध गराए सरहको प्रसूति बिदा उपलब्ध गराईनु पर्ने ।

३. नेपाल सरकारले २०८३/८४ को बजेट भाषणमार्फत बढाएको तलब अनुरुप पहिले नेपाल सरकारसँग भएको सहमति बमोजिम आवासीय चिकित्सकलाई साउन महिनादेखि बढेको तलबसहित अधिकृत आठौँ तहको तलब उपलब्ध गराइनु पर्ने । साथै सातामा ४८ घण्टा न्दा बढीको कार्य समय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समय काम गरेबापत भत्ता उपलब्ध गराईनु पर्ने ।

४. ईन्टर्न चिकित्सक ४/ ५ वर्ष एमबीबीएस र बीडीएस अध्ययन पूरा गरी नेपाल मेडिकल काउन्सिलमा प्रोभिजनल दर्ता भएका चिकित्सक हुन् । स्नातक तहको अध्ययन पूरा गरिसकेका ईन्टर्न चिकित्सकलाई कम्तिमा नेपाल सरकारको अधिकृत स्तर छैटाैँ सरह तलब उपलब्ध गराउनु पर्ने । साथै सातामा ४८ घण्टाभन्दा बढी कार्यसमय रहेमा श्रम ऐन बमोजम भत्ता उपलब्ध गराईनु पर्ने ।

५. प्रशिक्षार्थी चिकित्सकहरूको श्रम तथा अन्य शोषण भए–नभएको गुनासो सुन्न र अनुगमन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले अधिकार सम्पन्न समिति गठन गर्नुपर्ने । प्रत्येक मेडिकल कलेजमा मानसिक विभागको रहोबरमा प्रशिक्षार्थी चिकित्सकको मानसिक स्वास्थ्य प्रवर्धनको निम्ति समिति गठन गर्नुपर्ने ।

६. विशेष कारण पढाई बीचमा नै छोड्नु परेमा आवसीय चिकित्सकलाई हाल कायम राखिएको उच्च जरिवाना घटाउन पर्ने । उक्त सिट खेर जान नदिन, अर्को वर्ष हुने प्रथम वर्षको सिट संख्यामा थपेर समायोजन गर्नुपर्ने ।

७. एमबीडीएस/ बीडीएस पछि एमडी एस.एम डी एस अध्ययन गर्न राखिएको १ वर्षे अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गरिनुपर्ने । यो प्रावधानले गर्दा नवचिकित्सक जस्तो सुकै अवस्थामा काम गर्न बाध्य हुने भएकाले चिकित्सा शिक्षा ऐनको यथाशीघ्र संसोधन गरी खारेज गरिनुपर्ने ।