फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, स्विट्जरल्यान्डसँग बराबरी खेल्दै कतारले रच्यो इतिहास

फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल, स्विट्जरल्यान्डसँग बराबरी खेल्दै कतारले रच्यो इतिहास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिल र मोरक्को बराबरी गोलमा रोकिएका छन्।

न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काउँदै खेल बराबरीमा रोकिएको हो। उनले ब्रुनो गुमाइरेसको पासमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन्।

निर्धारितभन्दा १० मिनेट समय थप गर्दा समेत दुवै टोलीले थप गोल गर्न सकेनन्। यसअघि खेलको २१औं मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच यो दोस्रो खेल हो।

यस्तै समूहु बीको रोमाञ्चक खेलमा कतारले स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको छ।

अमेरिकाको सान फ्रान्सिस्कोस्थित बे एरिया स्टेडियममा भएको खेलमा इन्जुरी समयको चौथो मिनेटमा भएको गोल कतारका लागि भाग्यशाली साबित भयो। पहिलो पटक विदेशी भूमिमा विश्वकप खेलिरहेको कतारका लागि विश्वकपको इतिहासमै यो पहिलो अंक हो।

स्विट्जरल्यान्डले खेलको सुरुवातदेखि नै कतारमाथि दबाब बनाएको थियो। खेलको १७औं मिनेटमा कतारी गोलकिपर महमुद अबुनादाले रेमो फ्रुलरलाई फाउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टीको अवसर पाएको थियो। ब्रिल एम्बोलोले उक्त पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई १–० को अग्रता दिलाए।

खेलको ९०ं४ मिनेटमा कतारका होमाम अहमदको उत्कृष्ट क्रसलाई डिफेन्ड गर्ने क्रममा स्विस खेलाडी मिरो मुहेमको कडा दबाबका बीच कतारका कप्तान बोउलेम खोउखीले उत्कृष्ट हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए र कतारलाई निश्चित पराजयबाट बचाए।

स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेज र ग्रानिट जाकाले विश्वकपमा आफ्नो १३औं उपस्थिति जनाउँदै इतिहासमा सबैभन्दा बढी विश्वकप खेलिसकेका स्विस खेलाडीको नयाँ कीर्तिमान बनाएका छन्।

कतारका गोलकिपर महमुद अबुनादा उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ दि म्याच घोषित भए। यो बराबरीसँगै समूह बीमा रहेका चारै टोली स्विट्जरल्यान्ड, क्यानडा, कतार र बोस्निया एण्ड हेर्जेगोभिना समान १–१ अंक र समान गोल अन्तरका साथ बराबरीमा छन्।