काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
काठमाण्डु महानगरपालिका–८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरुले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताए ।
उनले भने, “राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।”
त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुखदुःखको भएको धारणा राखे । “वडाले सक्रिय जीवनपछि घरमा भएकालाई सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ”, झाले भने ।
समाजको वास्तविक स्वरुप, त्यस क्षेत्रमा बसोबास गर्ने सर्जक, कलाकार, खेलाडी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी जस्ता पेसाकर्मी, ज्येष्ठ नागरिक, उद्यमी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको व्यक्तित्वले बिम्बित गर्छ । वडाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका ७० व्यक्तिको व्यक्तित्व सहभागी भएका थिए ।
त्यस अवसरमा वडाका ज्येष्ठ नागरिकहरू रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ठूली सिलवाल, आशामरू संगत, रामप्रसाद चौलागाईं र गणेश महर्जन सम्मानित भए । राष्ट्रसेवक कर्मचारीहरू ज्ञानेन्द्रराज बैद्य, सुमन वैद्य, सानु डंगोल, नेत्र तिमल्सिना, जनकराज ढुङ्गाना, टंकमणि शर्मा र नवदत्त उपाध्यायलाई सम्मान प्रदान गरियो । खेलकुद विधामा कविराज नेगी, अदिप्शा बैद्य, उदयमान श्रेष्ठ, मनिष सेढाईँ, प्रशान्तमान श्रेष्ठ र सुरेन्द्र डंकल रञ्जनमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै, धर्म संस्कृति विधामा संस्कृतिविद् मुकुन्द वैद्य, पुजारी मृत्युञ्जय कर्माचार्य, डा. केदारमान भण्डारी, बाजागुरूहरू समिर संकत, रामकृष्ण डंगोल, भाइराजा डंगोल, राजेश संगत, समाजसेवीहरू रामकुमार श्रेष्ठ र अनन्तप्रसाद भेटवाललगायतलाई सम्मान प्रदान गरियो ।
कला साहित्य विधातर्फ राजेश मानन्धर, अजित गौतम, सरिता मिश्र, महेश्वर राजभण्डारी, अच्युतराम भण्डारी, नरेन्द्रराज शर्मा, उद्धवप्रसाद भट्टराई र सजल राजभण्डारी सम्मानित भए ।




प्रतिक्रिया