सिमकोट – पर्यटकीययाम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै कैलाश मानसरोवरको दर्शनका लागि यात्रा गर्ने पर्यटकको संख्या ३ हजार ७०० भन्दा बढी पुगेको छ ।
यस वर्षको कैलाश मानसरोवरको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेपछि संख्या बढ्दै गएको हो ।
हालसम्म ३ हजार ७८० जना भारतीय पर्यटक नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सा भएर चीनको ताक्लाकोटतर्फ कैलाश मानसरोवरको दर्शन गर्न जाने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए । यस वर्ष गत वैशाख ३० गतेदेखि भारतीय पर्यटक जिल्लामा प्रवेश सुरु गरेका उनले बताए ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हालसम्म १ हजार ८९२ महिला र १ हजार ८८८ जना पुरुष भारतीय पर्यटक हुम्ला आएका छन् । पर्यटकीय याम सुरु भएसँगै दैनिक ८०–२०० जना भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला आउने गरेका उनले जानकारी दिए । सोही कारणले यहाँका होटेलसहित कैलाश, मानसरोवर आसपासका होटल तथा रिसोर्ट भरिभराउ हुने गरेका छन् ।
पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीको आम्दानीमा उल्लेख्य सुधार भएको व्यवसायीहरू बताउँछन् । यसैगरी सिमकोट विमानस्थलबाट होटेलसम्म पर्यटकका झोलाहरू बोक्ने काममा ३० भन्दा बढी भरियाले काम गरिरहेका छन् । सिमकोटमा उत्पादित कृषिउपजले बजार पाउन थालेका छन् ।
पर्यटकको आगमन बढेपछि हाल ताराको एउटा, सीताका २ र समिट एयरका ३ गरी निजी एयरलाइन्सले ६ वटा उडानमार्फत बिहान ७ बजेदेखि बेलुका अबेरसम्म नेपालगञ्ज–सिमकोट सेवा प्रवाह गरिरहेका नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले जानकारी दिए ।
उनका अनुसार ६ वटा कम्पनीका ६ वटा हेलिकप्टरले सिमकोट विमानस्थलबाट हिल्सा उडान भर्दै आएका छन् । हेलिकप्टर बिहान ६:३० बजेदेखि बेलुका ७ बजेसम्म उडान भरिरहेका छन् । यस्तो पर्यटकको चहलपहल सिमकोटमा मात्र नभएर २ देशको सीमा क्षेत्र हिल्सामा पनि हुने गरेको छ ।
पर्यटक आगमन बढेसँगै हिल्साका होटल व्यवसायी र भरियाको कमाइ बढेको उनको भनाइ छ । कैलाश मानसरोवरको दर्शन गर्ने समय सुरु भएपछि भारतीय पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेकाले सिमकोट विमानस्थलमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन थालेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) टेककुमार रेग्मीले बताए ।
उनले सिमकोटबाट पर्यटक हिल्सा ओसार्ने हेलिकप्टरले बिहान ६:३० बजेदेखि उडान भर्न सुरु गर्ने जानकारी दिए । कतिपय बेला सिमकोट विमानस्थलमा ट्राफिक जाम हुने गरेको उनको भनाइ छ ।




प्रतिक्रिया