विश्वकप फुटबल : जर्मनी र आइभोरी कोस्ट विजयी, जापानद्वारा नेदरल्याण्ड्ससँग रोमान्चक बराबरी

विश्वकप फुटबल : जर्मनी र आइभोरी कोस्ट विजयी, जापानद्वारा नेदरल्याण्ड्ससँग रोमान्चक बराबरी


काठमाण्डु – फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा सम्पन्न समूह इको खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

जर्मनीले पहिलो हाफमा तीन गोल गरेको थियो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।

एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए । त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए । त्यसैगरी मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले खेलको ६८औँ मिनेटमा अर्को गोल थपे ।

त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।

इक्वेडरविरुद्ध आइभोरी कोस्ट १–० ले विजयी

यस्तै समूह इ अन्तर्गत आइभोरी कोस्ट र इक्वेडरबिच फिलाडेल्फिया स्टेडियममा निकै रोमाञ्चक भिडन्त भएको छ।
खेलको ९०औ मिनेटमा आइभोरी कोष्टका अमद डियादोले पहिलो गोल गर्दै आइभोरी कोस्ट विजयी भएको छ। निर्धारित समयमा ८ मिनेट थप गर्दा समेत इक्वेडर गोल फर्काउन सकेन।

यो खेल नै सिनियर अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीचको पहिलो आधिकारिक भेट हो। यी दुई देशबिच सिनियर टोलीको तहमा कुनै पनि मैत्रीपूर्ण खेल वा आधिकारिक प्रतियोगितामा सामना भएको छैन।

जापानद्वारा नेदरल्याण्ड्ससँग रोमान्चक बराबरी

यसैगरी समूह एफको रोमाञ्चक खेलमा जापानले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ।

डलासस्थित एटी एण्ड टी स्टेडियममा सोमबार बिहान भएको खेलमा जापानले दुई पटकसम्म पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट पुनरागमन गरेको हो।

जापानका लागि खेलको ८८ औं मिनेटमा डाइची कामदाले गरेको बराबरी गोल निर्णायक बन्यो। कोकी ओगावाको कर्नर किकमा कामदाले प्रहार गरेको बल डिफ्लेक्ट हुँदै डच गोलकिपर बार्ट भरब्रुगेनलाई छलाएर नेटमा छिरेपछि जापान हारबाट जोगियो।

पहिलो हाफ तुलनात्मक रूपमा शान्त र रक्षात्मक रह्यो। तेस्रो मिनेटमै नेदरल्याण्ड्सका डोनेएल मालेनको प्रहारलाई जापानी गोलकिपर जिओन सुजुकीले उत्कृष्ट बचाउ गरे। त्यसपछि दुवै टोलीले सजगता अपनाउँदा पहिलो हाफ गोलरहित सकियो।
५१ औं मिनेटमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भान डिज्कले रायन ग्रेभेनबर्चको क्रसलाई पेनाल्टी क्षेत्र भित्रबाट हेडरमार्फत गोलमा परिणत गर्दै डच टोलीलाई अग्रता दिलाए। यो उनको १३ औं अन्तर्राष्ट्रिय गोल थियो।

तर, नेदरल्याण्ड्सको यो खुसी धेरै समय टिक्न पाएन। ठीक सात मिनेटपछि अर्थात् ५७ औं मिनेटमा जापानका केइटो नाकामुराले ताकेफुसा कुबोको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेर खेललाई १(१ को बराबरीमा ल्याए।

६४ औं मिनेटमा क्राइसेन्सियो समरभिलले रायन ग्रेभेनबर्चकै पासमा बायाँ खुट्टाले उत्कृष्ट कर्लिंग स्ट्राइक गर्दै नेदरल्याण्ड्सलाई पुनः २(१ को अग्रता दिलाए। खेलको अन्तिम समयतिर जापानका आयसे उएडा र नाकामुराले गोल गर्ने केही अवसर गुमाए पनि ८८ औं मिनेटमा कामदाले गोल गर्दै जापानलाई महत्वपूर्ण १ अंक दिलाए।

यो बराबरीसँगै नेदरल्याण्ड्सले समूह चरणमा आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुर्‍याएको छ। यद्यपि, जित नजिक पुगेर पनि बराबरीमा रोकिनु परेपछि डच क्याम्पमा निराशा देखिन्छ।

यो बराबरीपछि समूह एफको समीकरण रोचक बनेको छ। अब नेदरल्याण्ड्सले आगामी शनिबार ह्युस्टनमा स्वीडेनको सामना गर्नेछ भने जापानले आइतबार नै ट्युनिसियासँग खेल्न मेक्सिकोको मोन्टेरी प्रस्थान गर्नेछ।