अमेरिका-इरानबीच ऐतिहासिक शान्ति सम्झौता, होर्मुज जलमार्ग खुल्ने

अमेरिका-इरानबीच ऐतिहासिक शान्ति सम्झौता, होर्मुज जलमार्ग खुल्ने

सहमतिका समाचारसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले घट्यो


काठमाण्डु – लामो समयको तीव्र तनाव र सैन्य टकरावपछि अन्ततः संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने विषयमा ऐतिहासिक सहमति भएको छ।

मध्यस्थकर्ता राष्ट्र पाकिस्तान, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी कूटनीतिज्ञहरूले यस सम्झौताको पुष्टि गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको र त्यो ‘अहिले लागु भइसकेको बताएका छन् । यस सम्झौताको हस्ताक्षर समारोह आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने तय भएको पनि उनले बताए ।

आइतबार इजरायलले लेबनानको राजधानी बेरुतमा नयाँ हवाई आक्रमण गरेपछि यो सम्झौता संकटमा परेको थियो। इजरायली कदमप्रति कडा आपत्ति जनाउँदै राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सार्वजनिक रूपमै आलोचना गरेका थिए। वार्तालाई विखण्डन हुनबाट जोगाउन अमेरिकाले अन्तिम समयमा केही सहुलियत दिएपछि इरान सम्झौताका लागि तयार भएको हो ।

सम्झौताको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इरानसँगको सम्झौता अब पूरा भएको छ। सबैलाई बधाई, म यसैसाथ स्ट्रेट अफ होर्मुजलाई खुला गर्न र अमेरिकी नौसेनाको नाकाबन्दी तुरुन्तै हटाउने पूर्ण अनुमति दिन्छु। विश्वका जहाजहरू हो, आफ्ना इन्जिन सुरु गर, अब तेल बग्न देऊ ।’

सम्झौतामा समावेश भएका विषयहरूबारे अझै स्पष्ट हुन बाँकी छ। तर अमेरिकी ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि तेलको आपूर्ति पुनः सुरु हुने बताएका छन्। उनले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने पनि बताएका छन्।

यता इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकी नौसेनाको नाकाबन्दी तुरुन्त र पूर्ण रूपमा समाप्त हुने जनाएको छ। सम्झौताको पहिलो चरणअन्तर्गत युद्धको अन्त्य, नाकाबन्दी फुकुवा र इरानको रोक्का गरिएको अर्बौँ डलर बराबरको सम्पत्ति फुकुवा गर्ने विषय समेटिएका छन्। दोस्रो चरणमा भने इरानको आणविक कार्यक्रमका विषयमा छलफल जारी रहने बताइएको छ।

यद्यपि, इजरायलले लेबनानमा आफ्नो सैन्य कारबाही पूर्ण रूपमा रोक्न स्वीकार गरिसकेको छ वा छैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। यस सम्झौतालाई लिएर इजरायल र अमेरिकाभित्रकै केही राजनीतिक वृत्तमा आलोचना र संशयसमेत व्यक्त हुन थालेको छ।

अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमा आक्रमण गर्‍यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरेको थियो।

सहमतिका समाचारसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको छ ।

अमेरिका र इरानबीच गत अप्रिलमा दुई हप्ताका लागि युद्धविराम सहमति भएको थियो। उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका थिए।