काठमाण्डु – इरानले अमेरिकासँगको प्रस्तावित १४ बुँदे सम्झौताको मस्यौदा पत्र सार्वजनिक गरेको छ । इरानी सञ्चार माध्यम मेहरका अनुसार इरानले यसलाई दुई देशबीच भइरहेको शान्ति सम्झौताको खाकाको रूपमा व्याख्या गरेको छ ।
इरानी सञ्चार माध्यमका अनुसार यो मस्यौदा दुवै पक्षबीच भइरहेको गहन कूटनीतिक वार्ताको परिणाम हो । मेहरले यसलाई पूर्ण १४ बुँदे मस्यौदा दाबी गर्दै यसमा इरानका अधिकांश मुख्य मागहरू समावेश गरिएको जनाएको छ ।
सम्झौताका मुख्य बुँदा :
१) प्रतिबन्धहरू हटाइने : इरानको तेल, पेट्रोकेमिकल्स र त्यससँग सम्बन्धित निर्यातमा लगाइएका सबै प्रतिबन्धहरू हटाइनेछन्।
२) वित्तीय पहुँच : इरानले आफ्ना सबै वित्तीय स्रोत र सम्पत्तिहरूमा पूर्ण पहुँच फिर्ता पाउनेछ।
३) २४ अर्ब डलर फुकुवा : ६० दिनको वार्ता अवधिमा इरानको रोक्का गरिएको २४ अर्ब डलर रकम फुकुवा गरिनेछ। यसमध्ये १२ अर्ब डलर वार्ता सुरु हुनुभन्दा अगाडि नै जारी गरिनेछ।
४) पुनर्निर्माण योजना : अमेरिका र उसका सहयोगी राष्ट्रहरूले इरानको पुनर्निर्माणका लागि करिब ३०० अर्ब डलरको योजना पेश गर्नुपर्नेछ।
५) युद्धविराम : लेबनानसहित सबै मोर्चाहरूमा जारी युद्ध तुरुन्त र सधैंका लागि बन्द हुनेछ।
६) हस्तक्षेप नगर्ने प्रतिवद्धता : अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र इरानको सार्वभौमसत्ताको सम्मान गर्ने वाचा गर्नेछ।
७) नौसैनिक नाकाबन्दीको अन्त्य : अमेरिकाद्वारा लगाइएको नौसैनिक नाकाबन्दी ३० दिनभित्र पूर्ण रूपमा हटाइनेछ।
८) सेना फिर्ता : अमेरिकी सेना इरानको वरपरका क्षेत्रहरूबाट हट्नेछ।
९) होर्मुज जलमार्ग खुल्ने : होर्मुज जलडमरू मध्यलाई इरानको व्यवस्थापन र संयन्त्र अन्तर्गत ३० दिनभित्र पुनः खुला गरिनेछ।
१०) ६० दिनको वार्ता अवधि : आणविक मुद्दाहरू र प्रतिबन्धहरूलाई पूर्ण रूपमा हटाउने अन्तिम सम्झौतामा पुग्नका लागि ६० दिनको औपचारिक वार्ता अवधि सुरु हुनेछ।
११) परमाणु हतियार नबनाउने प्रतिवद्धता : इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो एनपिटी परमाणु अप्रसार सन्धिको प्रतिवद्धतालाई पुनः दोहोर्याउनेछ।
१२) सैन्य गतिविधिमा रोक : वार्ताको अवधिमा यस क्षेत्रमा थप सेना नबढाउन वा नयाँ प्रतिबन्धहरू नलगाउन अमेरिका सहमत हुनेछ।
१३) अनुगमन संयन्त्र र संयुक्त राष्ट्र संघको स्वीकृति : यस सम्झौताको कार्यान्वयनको निगरानी एउटा विशेष अनुगमन संयन्त्रले गर्नेछ, र कुनै पनि अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावबाट अनुमोदन गरिनेछ।
१४) मिसाइल र रेजिस्टेंस ग्रुपहरू बाहिरै रहने : इरानको मिसाइल कार्यक्रम र त्यहाँका रेजिस्टेंस ग्रुपहरू (प्रतिरोध समूहहरू)लाई दिइने समर्थन यस सम्झौताको हिस्सा हुने छैनन् अर्थात्, यस सम्झौतामा तिनलाई समेटिएको छैन।




प्रतिक्रिया